
मेला खोर्लाबेशीको, चिन्ता जुवातासको
भोलि (माघ १६ गते)देखि हुने खोर्लावेशी (तातोपानी) मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । मितिनी मेलाको नामले पनि परिचित खोर्लावेशी मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक लार्के मनास्लु युवा क्लवका अध्यक्ष धनकुमार गुरुङले जानकारी दिए ।
पुस्तौँदेखि चलिआएको मेलामार्फत यस क्षेत्रको संस्कृतिको जगेर्ना गर्ने, लोकगीत, लोकनाच, स्थानीय भेषभुषाको प्रवद्र्धन गर्ने, स्थानीय उत्पादनहरुको विक्री वितरणबाट अर्थोपार्जन गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको क्लवका अध्यक्ष गुरुङले जानकारी दिए ।
मेला माघ १६ गतेदेखि १९ गते चारदिनसम्म आयोजना हुनेछ । ‘मेलामा लोकनृत्य प्रतियोगिता हुन्छ, महिला समूहस्तरीय नृत्य प्रतियोगिता हुन्छ, लोकदोहोरी प्रतियोगिता हुन्छ’, अध्यक्ष गुरुङले भने, ‘कृषि प्रदर्शनी र सबैभन्दा ठूलो भनेको भलिबल प्रतियोगिता हुन्छ ।’
यो भन्दा फरक सो मेलामा सबैभन्दा ठूलो जुवा खेल हुने गरेको छ । लाखौंको धनराशी हारजित हुने गरी जुवा(कौडा) खेल हुने गरेको स्थानीयहरुको गुनासो छ । ‘फेरि खोर्लावेशी मेला आयो, फेरि जुवाको बेला आयो’, एक स्थानीय भन्छन्, ‘यही जुवाले बिगतमा कति झैझगडा, कुटपिट, हानमार, जहान परिबारको भन्दा जुवाको बढि माया लाग्दो रहेछ । कतिको जहान परिबारको बिल्लीपाठ भएको छ । तैपनि जुवा खेलिरहन्छन् ।’
जुवाको निहुँमा झैझगडा, कुटपिटसमेत मच्चिने भएकाले मेलाले सांस्कृतिक जगेर्ना भन्दा सामाजिक विकृति धेरै फैलाएको अर्का स्थानीयको दुखेसो छ । ‘मेला भनेकै जुवातास जस्तो भएको छ यहाँ त । जुवातास नभए मेला नै हुदैन जस्तो भएको छ’, उनी भन्छन्, ‘जहाँ जस्तो वातावरण छ, छोरानातिले पनि त्यस्तै सिक्ने हुन् । अहिलेका जुवाडेहरुले पनि बाउबाजेले खेलेको देखेर सिकेका हुन् । अहिलेका नयाँ पुस्ताका बालबालिका, स्कूल, होस्टेलका बालबालिका यही देखेर हुर्किरहेका छन् । यिनले पनि यही सिक्ने त हुन् । आफ्नो पनि नाश, भावी पुस्ताको पनि विनाश भइरहेको छ ।’ मेलामा गोरखा, धादिङ, लम्जुङ, चितवनदेखिका अवलोकनकर्ता तथा जुवाडेहरु आउने गरेका छन् ।
जुवाडेहरुसंग आयोजक पनि मिल्ने, प्रहरी प्रशासन पनि मिल्ने आरोप स्थानीयको छ । ‘बिगतको चलन देख्दा जुवाको खालबाट आयोजकले पैसा उठाउँथे । अहिलेकाले के गर्छन् हेर्न बाँकी छ । प्रहरीले पनि खालबाटै जुवाडेलाई लखेट्लान् भनेको झन सुरक्षा दिएर खेलाएको जस्तो देखिन्छ । पत्रकारहरु पनि मेलामा आएर फोटो भिडियो खिच्ने, समाचार सार्वजनिक गरे कम हुन्थ्यो कि’, अर्का स्थानीय भन्छन् ।
तर जुवाडेसंग मेला आयोजकको कुनै सम्बन्ध, सम्पर्क नहुने संस्थाका अध्यक्ष धनकुमार गुरुङको दाबी छ । ‘हाम्रो ध्यान त गीत नाच प्रतियोगिता, भलिबल प्रतियोगितातिर मात्र हुन्छ’, उनी भन्छन्, ‘हामी मेला गरिरहेका हुन्छौं, कताकताबाट जुवाडेहरु आउँछन् । उनीहरुलाई प्रहरी प्रशासनले हटाइदिए हुन्थ्यो ।’




