| सोमवार, कार्तिक २३, २०८३

तयार हुँदै निर्वाचन प्रहरी

आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरीहरु छनोट भएका छन् । छनोटमा परेकाहरुको नामावली जिल्ला प्रहरी कार्यालयले सोमवार साँझ सार्वजनिक गरेको हो ।

कार्यालयका अनुसार कुल २ हजार ७६० जनाले आवेदन दिएका थिए । जसमध्ये २ हजार २८३ जना छनोट भएको प्रहरी निरीक्षक सरोज कार्कीले बताए । ‘हाम्रो जिल्लालाई २ हजार २८३ जनाको कोटा थियो,’ उनले भने, ‘तर कोटाभन्दा बढी आवेदन प¥यो ।’ ३ सय २३ जनालाई बैकल्पिकमा राखिएको उनले जानकारी दिए ।

उनका अनुसार गत पुस २५ गतेदेखि माघ १ गतेसम्म आवेदनको समय थियो । परेका आवेदन संख्याले कोटा नपुग्ने भएपछि पुनः दुई दिन म्याद थप गरियो । दुई दिनको अवधिमा ७ सय ९९ जनाले आवेदन दिएका थिए । जिल्ला प्रहरी कार्यालयसँगै इलाका प्रहरी कार्यालय आरुघाट र ठाटीपोखरीबाट पनि आवेदन संकलन भएको थियो ।

आवेदकहरुको शारिरिक र स्वास्थ्य परीक्षण गरिएको थियो । पास भएकाहरु लिखित परिक्षामा सहभागी भएर अन्तरवार्ता पश्चात छनोट भएका हुन् । उनीहरुलाई १८ गतेबाट तालिम दिइने छ । जिप्रका, इप्रका आरुघाट, ठाटीपोखरी र जौवारीमा तालिम संचालन हुने बताइएको छ । दश दिनसम्म तालिम संचालन हुने र त्यसपश्चात उनीहरुलाई जिल्लाका बिभिन्न क्षेत्रमा ड्यूटी खटाइने प्रहरी निरीक्षक कार्कीले बताए ।

छनोट भएकामध्ये ७९ जना सशस्त्र प्रहरीमा पठाइने उनले जानकारी दिए । ‘सशस्त्र प्रहरीका लागि पनि यो बर्ष निर्वाचन प्रहरीको कोटा तोकिएको छ,’ उनले भने, ‘छनोट भएकाहरुमध्ये ७९ जना हामी त्यहाँ पठाउँछौ, उहाँहरुलाई सशस्त्रले तालिम गराउनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्