| सोमवार, कार्तिक २३, २०८३

नमूना दलितवस्ती निर्माणमा अग्रसर हुँदै अजिरकोट

दलित समुदायको उत्थानका लागि अजिरकोट गाउँपालिकाले नमूना दलितवस्ती विकास कार्यक्रम संचालन गर्दै आएको छ । पिछडीएका दलित समुदायको सामाजिक एवं आर्थिक विकासका लागी नमुना दलितवस्ती विकास कार्यक्रम संचालन गरिएको उपाध्यक्ष अनिता भुजेलले बताइन् ।

कार्यक्रमले दलित समुदायको शिक्षा, स्वास्थ्य, सरसफाई र जीविकोपार्जनको क्षेत्रमा सहयोग पु¥याउँदै आएको उनले जानकारी दिइन् । ‘हामीले आवश्यकताका आधारमा सबैभन्दा पिछडीएका दलित समूहबाट कार्यक्रम सुरु गर्दै आएका छौँ’, उनले भनिन्, ‘कार्यक्रम लागु भएको समूहमा एक वर्षसम्म शिक्षा, स्वास्थ्य, सरसफाईको क्षेत्रमा विभिन्न कार्यक्रम संचालन हुन्छन् ।’ पालिकाले विगत तीन वर्षदेखि नमुना दलितवस्ती विकास कार्यक्रम संचालन गर्दै आएको उनले जानकारी दिइन् ।

उनका अनुसार नमुना दलितवस्ती विकास कार्यक्रमलाई पालिकाले आफ्नो नीति तथा कार्यक्रममा नै समावेश गरेर संचालन गर्दै आएको छ । कार्यक्रमका लागी सुरुको वर्ष १० लाख बिनियोजन भएको थियो । गत वर्ष र यस वर्षका बजेट ५–५ लाख रुपैँया रहेको भुजेलले बताइन् । यस कार्यक्रमका लागी पालिकाले आवश्यकताका आधारमा बजेट बढाउँदै आएको उनको भनाइ छ । नमूना दलितवस्ती विकास कार्यक्रमले दलित समुदायको रुपान्तरण गरेको अजिरकोट गाउँपालिकाको कार्यपालिका सदस्य एवं नमुना कार्यक्रमका संरक्षक सनिल परियारले बताए ।

उनका अनुसार पालिकाले पहिलोपटक नमुना दलितवस्ती विकास कार्यक्रम सुरु गरेको अजिरकोट–५ स्थित चौतारी दलित समूह हाल उदाहरणीय बनेको छ । उनी भन्छन्, ‘कार्यक्रम लागु भएको उक्त टोल अहिले नमुना नै बनेको छ । त्यहाँ सरसफाई पनि बढेको छ भने गाउँलेहरुबीच सामूहिकता पनि बढेको छ ।’

नमुना दलितवस्ती कार्यक्रम लागु भएको चौतारी दलित समूहमा लागुपदार्थ दुव्र्यसनीको घटना पनि निकै कम भएको परियार बताउँछन् । कार्यक्रमअन्तरगत दलित समुदायको रोजगारीमा सहयोग, जनचेतना अभिबृद्धि, कानुनी साक्षरता, टोल सुधार कार्यक्रम र बालबालिका शिक्षा लगायतका कार्यक्रमहरु संचालन हुँदै आएको कार्यपालिका सदस्य सनिल परियारले बताएका छन् । कार्यक्रममार्फत पालिकाले दलित समुदायका बालबालिकाहरुलाई बिहानी कक्षा दिँदै आएको छ ।

दलित समुदायको कानुनी हक अधिकारी, शिक्षा, सरसफाई र सभ्य भाषाको विषय समेटेर बिहानी कक्षा संचालन गरेको उनको भनाई छ । साथै, पालिकाले जीविकोपार्जन कार्यक्रमअन्तरगत बाख्रा पालनमा पनि सघाउँदै आएको छ । नमुना दलितवस्ती विकास कार्यक्रमले पालिकाको १९ प्रतिशत जनसङ्ख्या ओगटेको दलित समुदायको विकास र समृद्धिमा सहयोग पु¥याएको परियारले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्