
न कोहीविरुद्ध उजुरी, न कसैको उम्मेद्वारी खारेज
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि गोरखाबाट गत मंगलबार २७ जनाले मनोनयन दर्ता गरेका छन् । क्षेत्र नं. १ मा विभिन्न राजनीतिक दलबाट १२ जना र एकजनाले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । क्षेत्र नं. २ बाट विभिन्न राजनीतिक दलबाट १२ जना र २ जना स्वतन्त्र उम्मेद्वारले मनोनयन दर्ता गरेका हुन् ।
उम्मेद्वारविरुद्ध दाबी, बिरोध तथा उजुरी गर्नका लागि निर्वाचन आयोगले बुधबार समय निर्धारण गरेको थियो । साथै दाबी, बिरोध र उजुरी उपर छानबिन गरी निर्णय गर्न बिहिबारसम्म समय निर्धारण गरेको थियो । तर समय सीमाभित्र कसैविरुद्ध पनि उजुरी नपरेको निर्वाचन कार्यालयले जनाएको छ । ‘कसैविरुद्ध पनि दाबी, बिरोध तथा उजुरी परेन’, जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले भने, ‘त्यसैले बिहिबार हामीले उम्मेद्वारको नामावली प्रकाशन ग¥यौँ ।’
आयोगले तय गरेको कार्यतालिका अनुसार उम्मेद्वारी फिर्ता लिन शुक्रबारसम्मको समय सीमा निर्धारण गरिएको छ । त्यसैदिनमा अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको सुवेदीले जानकारी दिए ।




