
गोरखाबाट २७ उम्मेदवारमध्य महिला जम्मा ३
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागी गोरखाबाट २७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । गोरखा क्षेत्र नं १ बाट १३ र क्षेत्र नं २ बाट १४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । जसमध्ये महिला उम्मेदवार जम्मा तीनजना रहेका छन् ।
जिल्लाबाट उठेका समग्र उम्मेदवारहरु मध्ये जम्मा तीनजना अर्थात ११.१ प्रतिशत मात्र महिला उम्मेदवार छन् ।
गोरखा क्षेत्र नं १ बाट दुईजना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारका रुपमा कविता भट्टराई र नेपाल मजदुर किसान पार्टीबाट मनु कुमारी श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् । गोरखामा मुख्य राजनीतिक दलहरुको तर्फबाट हालसम्म महिलाले उम्मेदवारी पाएका छैनन् ।
यसपटकको निर्वाचनमा गोरखा क्षेत्र नं १ बाट नपाली काङ्ग्रेसतर्फ प्रेम खत्री, नेपाली कम्युनिष्ट पार्टीबाट हरिराज अधिकारी र नेकपा एमालेबाट रामचन्द्र (आरसी) लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेन–जी आन्दोलपछि चर्चामा आएका सुधन गुरुङलाई यस क्षेत्रको उम्मेदवार बनाएको छ ।
गोरखा क्षेत्र नं २ बाट जम्मा एक जना महिला उम्मेदवार रहेकी छिन् । यस क्षेत्रमा आम जनता पार्टीबाट कल्पना कुमालले उम्मेदवारी दर्ता गराएकी हुन् । गोरखा क्षेत्र नं २ बाट नपाली काङ्ग्रेसतर्फ प्रकाशचन्द्र ढवाडी, नेपाली कम्युनिष्ट पार्टीबाट लेखनाथ न्यौपाने र नेकपा एमालेबाट चक्रे मिलन (मिलन गुरुङ)ले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट भने पार्टीका महामन्त्री समेत रहेका कबिन्द्र बुर्लाकोटीले उम्मेदवारी दिएका छन् ।




