
गोरखामा ठुला दलका उम्मेदवार टुंगियो
आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा गोरखाका ठुला दलहरुले उम्मेदवारको टुंगो लगाएका छन् । जिल्लाको दुवै निर्वाचन क्षेत्रमा उनीहरुले उम्मेदवार टुंग्याएका हुन् । नेपाली कांग्रेसले गोरखा १ मा प्रेम खत्री र २ मा प्रकाशचन्द्र दवाडीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट गोरखा १ मा हरिराज अधिकारी र २ मा लेखनाथ न्यौपाने उम्मेदवार बन्ने भएका छन् ।
नेकपा एमालेले गोरखा १ मा आरसि लामिछाने र २ मा मिलन गुरुङ (चक्रे मिलन) लाई उम्मेदवार बनाउने भएको छ । गुरुङ अपराधिक तथा गुण्डागर्दी पृष्ठभूमिका मानिन्छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गोरखा १ मा सुदन गुरुङ र २ मा कविन्द्र बुर्लाकोटी उम्मेदवार हुने भएका छन् ।
त्यस्तै प्रजातान्त्रिक लोकतान्त्रिक पार्टी (प्रलोप)बाट गोरखा २ मा डा. बाबुराम भट्टराई चुनाव लड्ेन भएका छन् । गोरखा १ को भने निर्णय हुन बाँकी रहेको पार्टीले जनाएको छ ।
मनोनयन दर्ताका लागि दलहरुलाई समयसिमा
आज हुने मनोनयन दर्ताका लागि दलहरुलाई समयसिमा तोकिएको छ । बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय रहेपनि दल अनुसार फरक समय तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार कांगे्रसका लागि दिउँसो २ बजेर ३० मिनेटको समय तोकिएको छ । नेकपाका लागि २ र एमालेका लागि १ बजेको समय निर्धारण गरिएको छ । त्यस्तै रास्वपाका लागि ३ बजेको समय तोकिएको कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले बताए ।
‘प्रलोपका लागि सवा दुईको समय तोकेका छौ,’ उनले भने, ‘नेपाल परिवार दललाई दश बजे, मंगोलियन नेशनल अर्गनाइजेसनका लागि १० बजेर ३० मिनेट र नेशनल रिपब्लिक नेपालका लागि १२ बजेको समय दिएका छौ ।’ स्वतन्त्र वा अन्य दलका लागि भने बिहान १० बजेदेखि साँझ ५ बजेभित्र समयानुकुल मिलाएर आउन आग्रह गरिएको उनले जानकारी दिए । दलहरुको मनोनयन कार्यक्रम जुध्न नदिन समयसिमा तोकिएको उनको भनाइ छ ।




