
रास्वपाबाट गोरखा १ मा सुदन गुरुङ, २ बाट कवीन्द्र बुर्लाकोटी उम्मेद्वार
राष्ट्रिय स्वतन्त्र पार्टीले गोरखाका दुवै निर्वाचन क्षेत्रका लागि उम्मेद्वारको टुंगो लगाएको छ । पार्टी केन्द्रले आइतबार अबेर गोरखाका दुवै क्षेत्रका लागि उम्मेद्वारको टुंगो लगाएको जिल्ला सचिव मिलन रानाले जानकारी दिए । उनका अनुसार गोरखा १ बाट सुदन गुरुङलाई उम्मेद्वार बनाउने निर्णय भएको छ । त्यस्तै गोरखा २ बाट कवीन्द्र बुर्लाकोटीलाई उम्मेद्वार बनाइएको सचिव रानाले जानकारी दिए ।
सुदन गुरुङ जेनजी आन्दोलनपछि एकाएक देखापरेका व्यक्तित्व हुन् । उनी गोरखा क्षेत्र नं. १ अन्तर्गत चुमनुब्री गाउँपालिका वडा नं. ३ नाग्चेतका हुन् ।
त्यस्तै बुर्लाकोटी रास्वपाका महामन्त्री हुन् । पालुङ्टार नगरपालिका ९ का स्थायी बासिन्दा उनी स्थापना कालदेखि नै पार्टीमा सक्रिय भएर लागेका व्यक्तित्व हुन् । यसअघि २०७९ सालको निर्वाचनमा पनि उनी गोरखा २ बाट उम्मेद्वार बनेका थिए । त्यतिबेला उनले १२,६३९ मत प्राप्त गरेका थिए ।




