| आइतवार, जेष्ठ १६, २०८३

गोरखाका दुवै क्षेत्रका निर्वाचन कार्यालय स्थापना

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि गोरखामा दुवै क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरिएको छ । शुक्रबार छुट्टा छुट्टै कार्यक्रम गरी दुवै क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरिएको हो ।

सदरमुकामस्थित जिल्ला समन्वय समितिको कार्यालयमा निर्वाचन क्षेत्र नं. १ को कार्यालय तथा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत तथा क्षेत्र नं. १ का लागि निर्वाचन अधिकृतको जिम्मेवारी गोरखा जिल्ला न्यायधीश विष्णुप्रसाद गौतमले सम्हालेका छन् ।

मुख्य निर्वाचन अधिकृत गौतमले निर्वाचन कार्यालय स्थापना भएको जानकारी गराउँदै निर्वाचन स्वतन्त्र, निश्पक्ष र भयरहित बनाउन सबैको साथ र सहयोगको अपेक्षा गरे ।

साथै क्षेत्र नं. २ को निर्वाचन कार्यालय भू तथा जलाधार व्यवस्थापन, कार्यक्रम कार्यान्वयन इकाइमा स्थापना गरिएको छ । गोरखा नगरपालिका ८ आलेडाँडामा अवस्थित सो कार्यालयमा निर्वाचन कार्यालय स्थापना गरिएको क्षेत्र नं.का निर्वाचन अधिकृत मोहनप्रसाद बेल्बासेले जानकारी दिए ।

दुवै क्षेत्रको निर्वाचन कार्यालय स्थापना घोषणा कार्यक्रममा गोरखामा सक्रिय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्