| सोमवार, कार्तिक २३, २०८३

निर्वाचन प्रहरीमा आकर्षण घट्यो

गोरखामा निर्वाचन प्रहरीमा भर्ना हुनेको आकर्षण घटेको पाइएको छ । आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावका लागि आव्हान गरिएको निर्वाचन प्रहरी भर्नामा माग भएजति आवेदन नपरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

गत पुस २५ गते जिल्ला प्रहरी कार्यालय गोरखाले सूचना प्रकाशित गर्दै २२८३ जना प्रहरी भर्ना गर्ने जनाएको थियो तर फर्म भर्ने अन्तिम दिन माघ १ गतेसम्म जम्मा १७२२ जनाको मात्र आवेदन परेको डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आवश्यकभन्दा ५६१ जना कमको आवेदन परेको हो । आवश्यक भन्दा धेरैको आवेदन परेमा प्रतिस्पर्धा गरेर योग्यत्तमलाई छनौट गर्ने प्रावधान भए पनि अहिले आवश्यक पर्ने जति पनि आवेदन नपर्नु दुखद भएको प्रहरीको भनाइ छ ।

माग भए जति पनि आवेदन नपरेपछि आवेदन फर्म भर्ने म्याद दुई दिन थप गरेको प्रहरी उपरीक्षक भरत विकले जानकारी दिए । ‘खै कसरी आकर्षण कम भयो कुन्नि ? माग भएजति पनि आवेदन परेन त्यसैले अब आवेदन फर्म भर्ने म्याद दुई दिन थप गरेका छौँ ।’ देशभरि यस्तै समस्या भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्