
भीमसेन थापा र बारपाक सुलिकोटको बिभिन्न विधेयक पारित
भीमसेन थापा गाउँपालिका खाद्य अधिकार तथा खाद्य सम्प्रभुता विधेयक पास गर्ने जिल्लाको पहिलो पालिका बनेको छ । मंगलवार भएको गाउँ सभाको १७ औं अधिवेशनले उक्त विधेयक पास गरेको हो । नेपालको संविधानले प्रत्येक नागरिकलाई दिएको खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको मौलिक हकलाई कार्यान्वयन गर्न बिधेयक पास गरिएको प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताए ।
‘यो बिधेयक पास गर्ने हामी जिल्लाको पहिलो पालिका हौँ,’ उनले भने, ‘आजको सभामा यो सँगै अरु विधेयक पनि पास ग¥यौँ ।’ वातावरण तथा प्राकृतिक स्रोत सम्बन्धी बिधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व बिधेयक, आर्थिक ऐन र विनियोजन ऐन संशोधन बिधेयक समेत पारित भएको उनले जानकारी दिए । सभाले केही योजनाहरुको बजेट रकमान्तर गर्दै फरक शीर्षकमा विनियोजन समेत गरेको छ ।
यता बारपाक सुलिकोट गाउँपालिकाले पनि बिभिन्न विधेयक पारित गर्दै गाउँ सभाको १८ औं अधिवेशन सम्पन्न गरेको छ । मंगलवार भएको अधिवेशनले आर्थिक कार्यविधि वित्तीय उत्तरदायित्व विधेयक पास गरेको प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले बताए । स्थानीय मदिरा व्यवस्थापन कार्यविधिबारे पनि छलफल गरेर पारित गर्ने अन्तिर तयारी गरिएको उनले जानकारी दिए ।
‘घरेलु मदिरालाई प्रोत्साहन गर्ने र बाहिरबाट आयात गरिएको गुणस्तरहिन मदिरालाई नियन्त्रण गर्ने लक्ष्य हो,’ उनले भने, ‘स्थानीय स्तरमा उत्पादन हुने कोदो, किवी र लालिगुराँसको लोकल रक्सीलाई गुणस्तर मापन गरी ब्राण्डिङ र प्याकेजिङ गर्ने भन्ने छ ।’ एक महिनाभित्र कार्यविधि पास गरी कार्यान्वयन प्रक्रिया अघि बढाइने उनले जानकारी दिए । उनका अनुसार सभामा प्लास्टिकमुक्त पालिका घोषणाका लागि प्रारम्भिक छलफल समेत भएको छ ।
संघ तथा प्रदेश सरकारले स्थानीय तहलाई दिने राजश्व बाँडफाँट र समानिकरण अनुदान घटाएर पठाएको भन्दै सभाले उक्त रकम कटौती नगर्न माग गर्ने निर्णय गरेको छ । त्यस्तै संघ र प्रदेश आफैले कार्यान्वयन गरेको पुजिगत तर्फका योजनाहरुको हाल रोक्का रहेको रकम फुकुवा गर्न पनि माग गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत आलेले बताए ।




