
मुग्लिन–आँबुखैरेनी खण्डमा मस्र्याङ्दी पारि समानान्तर सडक निर्माण तयारी
पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–आँबुखैरेनी सडक खण्डमा मस्र्याङ्दी नदी पारि नयाँ सडक निर्माण गरिँदैछ । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत आँबुखैरेनी–पोखरा खण्डमा निर्माणको काम अन्तिम चरणतर्फ पुगेको छ । मुग्लिन–आँबुखैरेनी खण्ड अन्तर्गत कुल ९.३८४ किलोमिटर सडकको काम भने अब सुरु गर्ने तयारी छ । यस खण्डमा मस्र्याङ्दी नदी पारिपट्टि गोरखा जिल्लामा कुल ४.४५६ किलोमिटर नयाँ सडक निर्माण गर्न लागिएको छ ।
भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले सडकको रेखांकन गरी सडक सीमा तोक्ने निर्णय मन्त्रिपरिषदबाट भएको जानकारी गराएको छ । मन्त्रालयका अनुसार मुग्लिनदेखि आँबुखैरेनीसम्म हालको राजमार्गको समानान्तर मुग्लिन बजारको पारिपट्टि त्रिशूली किनार (गोरखातर्फ) मस्र्याङ्दी नदीको बाँया किनार हुँदै मस्र्याङ्दी विद्युत् गृहको पारिपट्टिसम्म थप सडकको रेखांकन गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो सडकको केन्द्र रेखादेखि दायाँबाँया १५\१५ मिटर गरी जम्मा ३० मिटर सडक सीमा तोक्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । गत असोजमा मन्त्रिपरिषद्ले गरेको निर्णय मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको छ ।
यससँगै यस सडक खण्डमा नयाँ सडक बनाउन बाटो खुलेको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिए । उनका अनुसार यस खण्डमा समेत एसियाली विकास बैंकको आर्थिक सहयोगमा सडक निर्माण तथा विस्तारको काम हुनेछ । यो आयोजना सुरुवात मुग्लिनस्थित नारायणगढ चोकमा पर्छ । यहाँबाट सुरु भई तनहुँ आँबुखैरेनीमा पुगेर सम्पन्न हुन्छ । आयोजनाका अनुसार अहिले चालु अवस्थामा रहेको मुग्लिन–आँबुखैरेनी सडकलाई स्तरोन्नति गरी एक लेन (एकतर्फी) बनाइने छ ।
मस्र्याङ्दी पारि भने दुई लेन एकतर्फी बाटो बनाइने भएको छ । त्रिशूली र मस्र्याङ्दी नदी गरी दुई स्थानमा बन्ने पुलले यो आयोजनालाई जोड्ने छ । यो आयोजनाले गोरखा जिल्लाको सहिद लखन गाउँपालिकालाई छुने छ । आयोजनाको कुल लागत ३ अर्ब ९७ करोड ४७ लाख २१ हजार बराबर छ ।
पृथ्वी राजमार्गमा रहेको मस्र्याङ्दी जलविद्युत् आयोजनाको कम्पोनेन्टका कारण साविकको सडकमा विस्तार गर्न असम्भव भएसँगै यो आयोजनाका लागि मस्र्याङ्दी पारि नयाँ लेन बनाउन लागिएको आयोजनाले जनाएको छ । साविकको सडकमा अस्तव्यस्त भिरालो जमिन रहेको तर गोरखातर्फको भागमा सडक बनाउँदा जलविद्युत् आयोजनाका कुनै पनि भागमा क्षति पु¥याउन नपर्ने भन्दै नयाँ सडक बनाउन लागिएको आयोजनाको भनाइ छ ।
यसले गोरखातर्फको ग्रामीण बस्तीलाई सहरमा परिणत गर्ने र त्यसले यातायात सुविधा, स्थानीय बजार–पसल र लघु उद्यममा सहयोग पुग्ने आयोजनाको भनाइ छ । मुग्लिनमा त्रिशूली नदीमाथि एउटा १ सय २० मिटर लामो पुल र मस्र्याङ्दी नदीमाथि बन्ने १ सय २५ मिटर लामो पुलले साविकको मुग्लिङबाट आँबुखैरेनी सडक जोड्ने छ । यो आयोजनाले कुल १३.३६ हेक्टर जमिन प्रयोग गर्ने भएको छ । जसमध्ये ९.५२ सरकारी वन क्षेत्र र ३.८४ हेक्टर निजी जमिन पर्छ । सडक निर्माणका दौरान १ सय ५३ बिजुली र टेलिफोनका पोल तथा ५ वटा ट्रान्स्फर्मरमा बाधा पुग्ने भएको छ ।
यसबीच २ सय २७ निजी र ११ सामुदायिक संरचना अधिग्रहण गर्नुपर्ने समेत आयोजनाले जनाएको छ । यस आयोजनका लागि कुल २ हजार रुख काट्नुपर्ने र ४ वटा मन्दिर स्थानान्तरण गर्नुपर्ने देखिएको छ ।




