| सोमवार, कार्तिक २३, २०८३

निर्वाचन कर्मचारीलाई मतदानस्थल पुग्न तीनदिन हिड्नुपर्ने

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यहरुको निर्वाचनका लागि निर्धारित गोरखाका २२५ मतदान स्थलमध्य २४ वटा स्थल सडक सञ्जालबाट टाढा रहेका छन् । अधिकांश हिमालपारिको चुमनुब्रीका र केही धार्चेका मतदानस्थलहरु सडक सञ्जालबाट टाढा रहेका निर्वाचन कार्यालयले जनाएको छ ।

चुमनुब्री गाउँपालिकाका २३ र धार्चेका १ मतदानस्थल सडक सञ्जालले नछोएको ठाउँमा रहेका कार्यालयले जनाएको छ ।
निर्वाचनका कर्मचारी तथा सुरक्षाकर्मीहरु चुमनुब्री गाउँपालिकाका मतदानस्थल पुग्न कम्तीमा तीनदिन पैदल हिड्नु पर्ने बाध्यता छ । सबैभन्दा टाढा चुमनुब्री १ को साम्दो आधारभूत विद्यालयकेन्द्र रहेको छ । त्यहाँसम्म पुग्न सडक पुगेको चुमनुब्री ३ पाङसिङबाट कम्तीमा तीन तथा चार दिनसम्म पैदल हिड्नुपर्छ ।

त्यस्तै सोही वडाको गौरीशंकर आधारभूत विद्यालय मतदानकेन्द्र पुग्न पनि कम्तीमा तीन दिन पैदल हिड्नुपर्छ । वडा नं. ७ को छुलेनिले आधारभूत विद्यालय केन्द्र पुग्न पनि तीन दिन हिड्नुपर्छ । जिल्ला निर्वाचन कार्यालयले उपलब्ध गराएको विवरणअनुसार चुमनुब्री वडा नं. २ को गाविस भवन स्यो केन्द्र, सामुदायिक भवन ल्हो केन्द्र, वडा नं. ७ कै वुद्ध आधारभूत विद्यालय केन्द्र र छेकम आधारभूत विद्यालय केन्द्र पुग्न पनि निर्वाचनका कर्मचारीहरु सडक पुगेको ठाउँ पाङसिङबाट दुई दिनसम्म पैदल हिड्नुपर्छ ।

वडा नं. ४ को प्रोक आधारभूत विद्यालय प्रोक, हिमचुली आधारभूत विद्यालय छाक, नाम्रुङ स्वास्थ्यचौकी केन्द्र, क्वाक आधारभूत विद्यालय क्वाक पुग्न पनि मोटरबाटो पुगेको पाङसिङबाट दुई दिन पैदल हिँड्नुपर्छ । कार्यालयबाट प्राप्त विवरण अनुसार क्राक आधारभूत विद्यालय केन्द्र, गुम्बाहिमाली आधारभूत विद्यालय केन्द्रसम्म पुग्न निर्वाचन कर्मचारी तथा सुरक्षाकर्मी मोटरबाट ओर्लेर एक दिनभरि पैदलयात्रा गर्नुपर्ने बाध्यता छ ।

त्यस्तै वडा नं. ६ को सिप्चेत आधारभूत विद्यालय केन्द्र, चुम्लिङ आधारभूत विद्यालय केन्द्र, सिद्धगणेश आधारभूत विद्यालय केन्द्र र खार सामुदायिक खोपकेन्द्र पुग्न पनि मोटरबाट ओर्लेर अर्को एक दिन पुरै पैदल हिड्नु पर्ने बाध्यता रहेको छ ।
वडा नं. ३ को वुद्ध मावि केन्द्र, वुद्ध हिमाली आधारभूत विद्यालय न्याक केन्द्र, सिदुङ आधारभूत विद्यालय सस्र्यू केन्द्र, फिलिम आधारभूत विद्यालय पाती केन्द्रमा पनि सडक सञ्जालले जोडेको छैन । ती केन्द्रहरुसम्म पुग्न गाडीबाट ओर्लेर एकघण्टादेखि चारघण्टासम्म पैदल हिँड्नुपर्ने दुरीमा छन् ।

धार्चे गाउँपालिका १ हुलचुक मतदानकेन्द्रसम्म पनि सडक निर्माण गरिएको भएपनि मोटर नचल्ने वडाअध्यक्ष रामसिङ गुरुङको भनाइ छ । बूढीगण्डकीमा पुल नहुँदा सडक खनेको भए पनि त्यहाँको इच्छा आधारभूत विद्यालय केन्द्रसम्म गाडी नपुग्ने उनको भनाइ छ । सडकबाट करिब दुईघण्टाको पैदल दुरीमा मतदानकेन्द्र रहेको उनको भनाइ छ ।

ती मतदानकेन्द्रहरुबाट मतपेटिका ओसार्न बिगतमा हेलिकोप्टरको प्रयोग गर्ने अभ्यास रहेकाले यो निर्वाचनमा पनि हेलिकोप्टरको माग गरिएको प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठको भनाइ छ । ‘भौगोलिक अवस्थिति त्यस्तै छ । त्यसैले बिगतदेखि नै हेलिकोप्टरमा मतपेटिका ओसार्ने अभ्यास रहेकाले यसपटक पनि त्यसका लागि पहल भइरहेको छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्