
बाबुराम भट्टराई र उमा भुजेलको नाम गोरखाबाट सिफारिस
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) र नेकपा माओवादीबाट दुई शीर्ष नेताको नाम गोरखाबाट सिफारिस भएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गोरखाले पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको नाम सिफारिस गरेको र विप्लव नेतृत्वको नेकपा माओवादीले सो पार्टीका स्थायी समिति सदस्य उमा भुजेलको नाम प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस गरेको जनाएका छन् ।
प्रलोपाको शनिबार बसेको जिल्ला समन्वय समितिको बैठकले पार्टीका संरक्षक भट्टराईलाई दुवै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको पार्टीका जिल्ला संयोजक यानप्रसाद भट्टले जानकारी दिए । क्षेत्र नम्बर १ बाट भट्टराई, शारदाप्रसाद धिताल, बाबुराम नेपाली, अर्जुन पन्त र साधुराम नेपालीको नाम सिफारिस भएको प्रलोपाका जिल्ला संयोजक भट्टले बताए । त्यस्तै, क्षेत्र नम्बर २ बाट भट्टराईसहित बाबुराम श्रेष्ठ, परशुराम पोखरेल र सानु गुरुङको नाम सिफारिस गरिएको छ ।
त्यस्तै समानुपातिकको बन्द सूचीमा गोरखाबाट दिनेश जोशी, महेश गुरुङ, इन्दिरा बस्ताकोटी, नारायणी अधिकारी र लालबहादुर बिकको नाम सिफारिस गरेको संयोजक भट्टले जानकारी दिए । त्यस्तै प्रतिनिधिसभा निर्वाचनका लागि विप्लव नेतृत्वको नेकपा माओवादी गोरखाले दुवै निर्वाचन क्षेत्रबाट ६ जना उम्मेदवारका लागि नाम सिफारिस गरेको छ ।
पार्टीले गोरखा–१ बाट ३ र क्षेत्र नम्बर २ बाट ३ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको हो । गोरखा १ बाट उम्मेद्वारका लागि पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज कपिल भट्ट, पार्टीका स्थानीय नेता अजिव पौडेल र पार्टीको गण्डकी गाउँपालिका इन्चार्ज विष्णु रिजालको नाम सिफारिस गरिएको पार्टीको केन्द्रीय सदस्य काजी गुरुङले बताए ।
त्यस्तै प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नम्बर २ बाट पार्टीकी स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज उमा भुजेल, काजी गुरुङ र मजदुर संगठन नेपालका अध्यक्ष टेक प्रधानको नाम सिफारिस गरिएको छ । यस्तै, समानुपातिकको बन्द सूचीमा योगेन्द्र कुमालको नाम सिफारिस गरिएको पार्टीले जानकारी दिएको छ ।




