| सोमवार, कार्तिक २३, २०८३

गोरखामा २२८३ जना निर्वाचन प्रहरीका लागि भर्ना खुल्ला

गोरखामा दुईहजार दुईसय ८३ जना निर्वाचन प्रहरीका लागि शुक्रबारदेखि भर्ना खुल्ला गरिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले सूचना जारी गर्दै निर्वाचन प्रहरी भर्ना गर्न आवेदन आह्वान गरेको हो । जसमध्य दुईहजार दुईसय चार जना नेपाल प्रहरीतर्फ र ७९ जना सशस्त्र प्रहरीतर्फ भर्ना गरिने जनाइएको छ ।

आउँदो फागुन २१ गने हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभर प्रहरीले एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ती गर्दैछ । त्यसका लागि शुक्रबारदेखि माघ १ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । सार्वजनिक बिदाका दिनमा पनि आवेदन दिन सकिने व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।

आवेदन फारम जिल्ला प्रहरी कार्यालयमा पुगेर भर्न र बुझाउन पाइनेछ । निर्वाचन प्रहरी हुन फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । अथवा जन्ममिति २०२८।१०।०१ गतेदेखि २०६४।१०।०१ गतेसम्म जन्मिएका व्यक्तिले आवेदन दिन सक्नेछन् । निर्वाचन प्रहरी हुनका लागि साधारण लेखपढ गरेको हुनुपर्ने, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट सजायँ नपाएको, राजनीतिक दलको सदस्य नरहेको, स्वस्थ रहेको, आतंककारी एवं विध्वंसात्मक संगठनको सदस्य नरहेको हुनुपर्ने सूचनामा उल्लेख छ ।


पुरूषको हकमा घटीमा ५ फिट, छाती ३१–३३ इन्च, ५० किलो तौल र महिलाको हकमा उचाइ ४ फिट १० इन्च, तौल ४२ किलो भएको हुनुपर्ने उल्लेख छ । निर्वाचन प्रहरीको अवधि ४० दिन रहने उल्लेख छ । निर्वाचन प्रहरीको तलब दिनको ८६९ रुपैयाँ हुनेछ । ४० दिनको लागि ३४ हजार ७७६ रुपैयाँ दिइने भएको हो । त्यस्तै ४० दिनको खाद्यान्नको खर्च सरकारले व्यक्तिगत बैंक खातामा रकम उपलब्ध गराउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्