
पटकपटक चुनाव हारेकी सम्झना : राष्ट्रिय सभा सदस्यमा जित नजिक
२३ भदौको जेनजी आन्दोलनमा १९ जना युवाको ज्यान गयो । गोरखाकी एमाले नेत्री सम्झना देवकोटाले घटनाको जिम्मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लिनुपर्ने भन्दै फेसबुकमा स्टाटस लेखिन् । तर, एमाले नेताहरूको दबाब र २४ भदौको विध्वंशपछि स्टाटस हटाइन् ।
त्यसयता उनले एमाले अध्यक्ष ओलीको पक्षमा लगातारजसो स्टाटस र भिडियोहरू अपलोड गर्न थालिन् । एमालेको ११औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिन चाहे पनि ओली प्यानलमा परिनन् । र, पराजित भइन् । तर, राष्ट्रिय सभा निर्वाचनमा भने तिनै ओली दाहिना भइदिए । अर्थात् टिकट प्राप्त गरिन् ।
आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन गर्ने निर्णय गरेका छन् । त्यसैअनुसार उम्मेदवार तय गरिसकेका छन् । कांग्रेस र एमालेबीचको तालमेलले गठबन्धनसँग बलियो मतभार बनेको छ । जसका कारण सम्झना राष्ट्रिय सभा निर्वाचनमा विजयी हुने सम्भावना बलियो देखिएको छ ।
देवकोटा तिनै एमाले नेतृ हुन्, जसले गोरखा नगरपालिकाको उपमेयर, मेयर हुँदै अघिल्लो राष्ट्रिय सभामा समेत हार बेहोरेकी थिइन् । एमालेको कमजोर जनाधार भएको गोरखामा २०७४ मा उपमेयर र २०७९ मा मेयरमा पराजित भएपछि २०८० माघ ११ गते भएको राष्ट्रिय सभामा एमालेले हार्ने चुनाव पनि उनैलाई लडाएको थियो । त्यसको ठिक २ वर्षपछि एमालेबाटै टिकट पाएपछि भने उनको हारमा पूर्णबिराम लाग्ने देखिँदैछ ।
गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा एमालेबाट देवकोटाले टिकट पाएकी छिन् भने कांग्रेसबाट जगत तिमिल्सिनाले टिकट पाएका छन् । प्रमुख दुई दल मिल्दा जित पक्का हुने अंकगणितले देखाउँछ । यता, जनताबाट पटकपटक हारेका व्यक्तिलाई राष्ट्रिय सभामा लैजाने प्रवृत्ति प्रमुख दलले दोहो¥याएको भन्दै आलोचनासमेत भइरहेको छ । उपमेयरदेखि मेयर र राष्ट्रिय सभासम्म उनैलाई टिकट दिएको भन्दै कतिपय एमाले कार्यकर्ताले गुनासो गरिरहेका छन् ।
देवकोटा भने हार हुन्छ भन्ने जान्दाजान्दै पनि पार्टीका निम्ति अघिल्ला चुनावमा होमिएको जिकिर गर्छिन् । ‘म पार्टीको सिपाही हुँ । यसअघि एमालेले हार्छ भन्ने जान्दाजान्दै मैदानमा उत्रिएकी थिएँ,’ उनले भनिन्, ‘मैले पटकपटक अवसर पाएको होइन । एउटा पार्टीको सिपाही जस्तोसुकै परिस्थिति आए पनि मैदानबाट भाग्दैन । म भागिनँ र हार्ने चुनाव पनि पार्टीका निम्ति लडिरहें ।’
कठिन परिस्थितिमा पनि पार्टीका निम्ति लडेको र योगदान गरेको फल अहिले मिलेको उनी बताउँछिन् । गोरखा घर भएर काठमाडौंमा समेत बस्दै आएकी देवकोटाले मंगलबार नै आफूले टिकट पाउने जानकारी पाइसकेकी थिइन् । काठमाडौंबाट बुधबार पोखरा पुगेकी देवकोटा एमाले सचिव तथा संगठन विभागमा आफू सचिव हुँदा प्रमुखको भूमिका निर्वाह गरेका खगराज अधिकारीसँगै उम्मेदवार मनोनयन गर्न पुगेकी छिन् । २३ भदौको घटनाले आफूलाई छोएको र २४ गतेपछि एमालेकै विचार, लाइन ठिक रहेछ भन्ने थाहा पाएपछि घटनाको जिम्मेवार एमाले नहुने भनेर आफूले भनेको उनले सुनाइन् ।
निरन्तर पार्टीमा लागेका इमान्दार कार्यकर्तालाई नेतृत्वले न्याय गर्छ भन्ने देखिएको उनको दाबी छ । देवकोटा जिल्लामा सचिव नेतृत्वमा हुने प्रणाली हटेर अध्यक्षात्मक प्रणालीमा गएपछि गोरखाको सचिवमा निर्वाचित भएकी थिइन् । २०६६ सालमा मतदानबाटै चुनिएकी उनी देशभरका एमाले जिल्ला सचिव बनेका २ जना महिलामध्ये एक हुन् । त्यो बेला देवकोटा र झापामा पवित्रा निरौला मात्र पार्टी सचिव बन्न सफल भएका थिए ।
देवकोटा गोरखा नगरपालिका–३ नारेश्वरकी स्थायी बासिन्दा हुन् । नेपाली कम्युनिस्ट आन्दोलनमा विगत चार दशक लामो यात्रा गरेकी देवकोटा २०४० सालदेखि कम्युनिस्ट आन्दोलनमा होमिएकी हुन् । त्यतिबेला अनेरास्ववियु विन्ध्यावासिनी माविको प्रारम्भिक कमिटीको सचिव पदमा रहेर राजनीतिक गतिविधि सञ्चालन गर्दै आएकी थिइन् । २०४५ सालमा अनेरास्ववियु गोरखा क्याम्पस इकाइको सहसचिव भएर काम गरेकी उनले २०४७ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएकी थिइन् ।
२०४८ सालमा अखिल नेपाल महिला संघ, जिल्ला कमिटीको संस्थापक अध्यक्ष बनेर महिला आन्दोलनको नेतृत्व गरेकी देवकोटा २०५४ सालबाट जिल्ला सदस्य, जिल्लाको सचिव हँुदै २०७४ मा प्रदेश कमिटी सदस्य थिइन् । दोस्रो संविधानसभामा समानुपातिक सूचीमा परेकी उनले त्यसपछि लगातार टिकट पाएकी छन् । २०७४ मा गोरखा नगरको उपमेयर, २०७९ मा मेयर, २०८० मा राष्ट्रिय सभामा टिकट पाएर पनि उनले जितिनन् ।
कस्तो छ मतभार
गण्डकी प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ सदस्य छन् । जसको मतभार १ हजार ४३१ हुन आउँछ । स्थानीय तहतर्फ नेपाली कांग्रेसबाट नगर प्रमुख १५, उपप्रमुख ११, गाउँपालिका अध्यक्ष २१ र उपाध्यक्ष २० गरी ६७ जना निर्वाचित छन् । राष्ट्रिय सभामा तिनको मतभार १९ का दरले जोड्दा १ हजार २७३ हुन आउँछ । यसरी हेर्दा राष्ट्रिय सभामा नेपाली कांग्रेस एक्लैको २ हजार ७०४ मतभार छ । २०८० माघ ११ गते हुने राष्ट्रिय सभाको चुनावका लागि एमालेबाट पुस २३ गते मनोनयन दर्ता गराएपछि सम्झना देवकोटालगायत एमालेका उम्मेदवार ।
गण्डकीमा दोस्रो ठूलो दल नेकपा एमाले हो । गण्डकी प्रदेश सभामा २२ जना सदस्य छन् । जसको मतभार १ हजार १६६ हुन्छ । स्थानीय तहतर्फत एमालेले नगर प्रमुख ८, उपप्रमुख ९ र गाउँपालिका अध्यक्ष २७, उपाध्यक्ष २४ गरी ६८ जना निर्वाचित छन् । जसको मतभार १ हजार २९२ हुन आउँछ । प्रदेश सभा सदस्य र स्थानीय तहको कूल मतभार २ हजार ४५८ छ । एमालेबाट निर्वाचित ढोरपाटन नगरपालिकाका मेयर देवबहादुर नेपाली निलम्बित छन् । उनीबाट प्राप्त हुने १९ मतभार घटाउँदा एमालेको पक्षमा २ हजार ४३९ मतभार हुनेछ ।
नेपाली कम्युनिस्ट पार्टीमा गण्डकी प्रदेश सभामा तत्कालीन माओवादीबाट ८ सिट जितेको छ । जसको मतभार ४२४ हुन आउँछ । तर माओवादी चुनाव चिह्नबाट विजयी फणिन्द्र देवकोटा नेपाल समाजवादी हुँदै प्रगतिशील लोकतान्त्रिक पार्टीमा छन् । स्थानीय तहतर्फ माओवादीबाट नगर प्रमुख २, उपप्रमुख ७, गाउँपालिका अध्यक्ष ९, उपाध्यक्ष १२ गरी ३० जना निर्वाचित छन् । एकीकृत समाजवादी पार्टीबाट पोखराका मेयर धनराज आचार्य पनि नेकपामै छन् ।
उनीसहित जसको मतभार ५८९ हुन आउँछ । प्रदेश सभा सदस्य र स्थानीय तहका गरी फणिन्द्रले मत नहाल्दा माओवादीसँग ९६० मतभार हुन्छ । राष्ट्रिय जनमोर्चाको स्थानीय तहतर्फ नगर प्रमुख १, गाउँपालिका अध्यक्ष १ र उपाध्यक्ष १ जना गरी ३ जना निर्वाचित छन् । जसको मतभार ५७ छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट गण्डकी प्रदेशसभामा २ जनाले जितेका छन् भने स्थानीय तहतर्फ शून्य छ । राप्रपाको मतभार राष्ट्रिय सभामा १ सय ६ हुने छ ।




