
लापरवाही गरी सवारी चलाउनेहरु कारवाहीमा
चालकको लापरवाहीले सवारी दुर्घटना बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरीले कडाइ गरेको छ । लापरवाही गर्ने सवारी चालक कारवाहीमा पर्न थालेका छन् । एक महिनाको अवधिमा २० जना चालक कारवाहीमा परिसकेका कार्यालयले जनाएको छ ।
उनीहरुलाई लापरवाहीको प्रकृति हेरेर ५ सयदेखि १५ सयसम्म जरिवाना गराइएको जिल्ला ट्राफिक इन्चार्ज सुरज अर्यालले बताए । ‘बाह्र किलोको दुर्घटनापछि हामीले गाडी स्टार्टमा राखेर चालक झर्न नपाउने र गाडी रोकेर राख्दा अनिवार्य ओत राख्नुपर्ने भनेका छौ,’ उनले भने, ‘नमान्नेहरु कारवाहीमा पर्छन् ।’ बस बिसौनीहरुमा नियमित जसो ट्राफिक प्रहरीबाट निगरानी भइरहेको र छड्के चेकजाँच समेत हुने गरेको उनले जानकारी दिए ।
गत मंसिर १५ गते गोरखाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख १४१९ बस चालककै लारवाहीका कारण बाह्रकिलोमा दुर्घटना भएको थिए । स्टार्टमा राखेर चालक झरेपछि गाडी आफै गुडेर दुर्घटना भएको हो । यसअघि पनि सोही ठाउँमा सोही प्रकृतिको घटना भएको थियो । बारम्वार घटना दोहोरिएपछि नियन्त्रणका लागि ट्राफिक प्रहरीले कडाइ गर्न थालेको हो ।
मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरुलाई पनि कार्यालयले धमाधम कारवाही गरेको छ । चालु आर्थिक बर्षको हालसम्म ८० जना चालक कारवाहीमा परिसकेका छन् । उनीहरुबाट ५० हजार ५ सय राजश्व संकलन भएको छ । हालसम्म सवारी नियम उल्लघंन गर्ने २ हजार ४७२ सवारीलाई कारवाही गरिएको कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी छन् । कारवाही स्वरुप २१ लाख ६७ हजार राजश्व उठिसकेको जिल्ला ट्राफिक प्रमुख अर्यालले बताए ।




