| सोमवार, कार्तिक २३, २०८३

गोरखामा बैदेशिक रोजगारी ठगीसम्बन्धी मुद्दाका चाङ

रोजगारीका लागि विश्वका विभिन्न देशमा लैजाने भन्दै रकम असुली गरेर अलपत्र पार्नेहरुका विरुद्ध जिल्ला प्रशासन कार्यालय गोरखामा मुद्दाको चाङ छ । बिगतका बर्षदेखि दर्ता भएर समाधान नभएका र चालु बर्ष दर्ता भएका मुद्दाको चाङ रहेको हो ।
कार्यालयका अनुसार चालु आर्थिक बर्षको ६ महिनामा १८ वटा मुद्दा दर्ता भएका छन् । तीमध्य दुईवटा समाधान भएका र १६ वटा मुद्दा चलिरहेका कार्यालयले जनाएको छ ।

पालुङ्टार ६ का रविन क्षेत्रीले युके लगिदिने भनी असुल गरेको ३८ लाखमध्य पिडित स्थानीय जंगबहादुर थापालाई २८ लाख तिरिसकेको र १० लाख तिर्न बाँकी रहेको छ । अर्को एक मुद्दाका आरोपीले पनि लिएको जति रकम फिर्ता गरेर समस्या समाधान भइसकेको कार्यालयले जनाएको छ ।

तर बाँकी १६ वटा मुद्दा भने जारी छ । आरुघाट गाउँपालिका आप्रिकका विशाल गुरुङविरुद्ध कोरिया लगिदिन्छु भन्दै आठ–आठ लाख रुपैयाँ असुल गरेको तर नलगिदिएको र रकम पनि फिर्ता नगरेको भन्दै तीनजनाले मुद्दा दर्ता गरेका छन् । उनीविरुद्ध आरुघाट गाउँपालिका १ धोर्चेतका समिर घले, सोही गाउँपालिका कटुञ्जेका गोविन्द गुरुङ र कटुञ्जेकै आइते गुरुङले मुद्दा दर्ता गरेका हुन् । उजुरी गर्नेहरु र आरोपी बीच छलफल गराउँदा निश्कर्षविहिन भएपछि मुद्दा वैदेशिक रोजगारी विभागमा पठाइएको कार्यालयले जनाएको छ ।

त्यस्तै पालुङ्टार नगरपालिका ६ थानसिङका सन्तोष खनालविरुद्ध पनि फ्रान्स लगिदिन्छु भनेर नलगेको भन्दै तीन जना पिडितले मुद्दा दर्ता गरेका छन् । उनीविरुद्ध पालुङ्टार ३ का रविन्द्र देवकोटा, पालुङटार ५ रानिटारका सुविन सुनार र अदानचुली गाउँपालिका ६ का नरेन्द्र टमाटाले मुद्दा दर्ता गरेका हुन् । देवकोटाले आफूसंग ६ लाख ७५ हजार, सुनारले १३ लाख ३५ हजार र टमाटाले ८ लाख ५९ हजार पाउनु पर्ने माग गर्दै मुद्दा दर्ता गरेका कार्यालयले जनाएको छ ।

पोर्चुगल लगिदिन्छु भनेर दुई लाख रुपैयाँ असुलेको तर नलगिदिएको र रकम पनि फिर्ता नगरिदिएको भन्दै गोरखा नगरपालिका ८ का सुजन उपरकोटीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा दुईवटा मुद्दा दर्ता भएका छन् । बारपाक सुलिकोट गाउँपालिका २ का गणेश घले र सनिल घलले उनीविरुद्ध मुद्दा दर्ता गरेका हुन् । दुई पक्ष बीच गत मंसीर २४ गते छलफल गर्दा उपरकोटीले एक महिनाभित्र रकम फिर्ता गर्ने प्रतिवद्धता गरेका छन् ।

त्यस्तै माल्टा लगिदिन्छु भन्दै पाँच लाख ९८ हजार लिएको तर नलगिदिएको र रकम पनि फिर्ता नगरेको भन्दै पालुङ्टार ६ का भक्तबहादुर विश्वकर्माले अजिरकोट ५ मुच्चोकका काजी आर सुनारविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेका छन् । कार्यालयले उनलाई हाजिर हुन पत्राचार गरेको जनाएको छ ।

दुबई लगिदिने प्रलोभनमा दुईलाख १० हजार रुपैयाँ लिएको तर दुबई नलगेको र रकम पनि फिर्ता नगरेको भन्दै धार्चे ५ का तेजमान घलेले धार्चे २ रुञ्चेतका तेजमान गुरुङविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेका छन् । छलफलका लागि बोलाउँदा आरोपी घलेले अटेर गरेको कार्यालयले जनाएको छ ।

दुबई लगिदिन्छु भनेर तीनलाख रुपैयाँ लिएको तर नलगिदिएको र रकम पनि फिर्ता नगरेको भन्दै पालुङटार नगरपालिकाकी जानुका पन्तले गोरखा नगरपालिका १३ पुरानोडिहीका सन्दीप नरालविरुद्ध मुद्दा दर्ता भएको छ । छलफलका लागि बोलाउन खोज्दा आरोपी सम्पर्कमा नआएको कार्यालयले जनाएको छ ।

क्यानडा लगिदिने भन्दै तीनलाख ५० हजार रुपैयाँ असुल गरी क्यानडा नलगिदिएको र रकम पनि फिर्ता नगरिदिएको भन्दै धार्चे ५ सिङ्लाका धनबहादुर गुरुङले पोखरा मियाँपाटनका गोविन्दप्रसाद शर्माविरुद्ध जिल्ला प्रशासन कार्यालय गोरखामा मुद्दा दर्ता गरेका छन् । दुई पक्ष बीच छलफल गराउने प्रयास गरिरहेको कार्यालयले जनाएको छ ।

रोमानियाँ लगिदिन्छु भन्दै चारलाख रुपैयाँ लगेको तर नलगेको र रकम पनि फिर्ता नगरेको भन्दै सिरानचोक ७ गोहोरेका यदुनाथ पाण्डेले मादी गाउँपालिका पर्वतका राजिव लामिछानेविरुद्ध मुद्दा दर्ता गरेका छन् । आरोपीलाई सम्पर्क गर्न खोज्दा सम्पर्कमा नआएको कार्यालयले जनाएको छ ।

मोरङका विकास राईले दुबई लगिदिन्छु भन्दै दुईलाख रुपैयाँ लिएको तर नलगिदिएको र रकम पनि फिर्ता नगरेको भन्दै गोरखा नगरपालिका ४ फिनामका उत्तम थापाले जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेका छन् । क्रोयसिया लगिदिन्छु भन्दै तीनलाख १२ हजार असुल गरेको तर काम पनि नगरिदिएको र रकम फिर्ता पनि नदिएको भन्दै सहिदलखन गाउँपालिका ७ काउलेका अशोक मगरले हल्दीबारी १ झापाका यमुना दाहाल र जीवन कटुवालविरुद्ध मुद्दा दर्ता गरेका छन् । आरोपीलाई पटक पटक फोन सम्पर्क गर्न खोज्दा फोन रिसिभ नगरेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्