
उत्तरी गोरखामा सडक पुगेसँगै सवारी नियमबारे सचेत गराउँदै ट्राफिक प्रहरी
उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका सडक सञ्जालले जोडिएसँगै ट्राफिक तथा सडक सुरक्षा सम्बन्धी सचेतना अभिवृद्धि गरिएको छ । स्थानीयलाई लक्षित गरी पहिलो पटक उक्त क्षेत्रमा ट्राफिक सचेतना कार्यक्रम संचालन भएको हो । गाउँपालिकाको समन्वयमा कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
‘यसअघि उक्त पालिका सडक सञ्जालले जोडिएको थिएन,’ जिल्ला ट्राफिक प्रहरी प्रमुख सुरज अर्यालले भने, ‘अहिले सडक पुग्यो, आवश्यकता देखेपछि सचेतना कार्यक्रम गरेका हौँ ।’ कार्यक्रममा सवारी नियम, सडक सुरक्षा, ट्राफिक चिन्ह र संकेत लगायतका बारेमा जानकारी गराइएको उनले बताए । सडक सुरक्षामा बिद्यार्थी र अभिभावकको भूमिकाबारे पनि सहजिकरण गरिएको उनले जानकारी दिए ।
जिल्लाको बिकट मानिने चुमनुव्री गाउँपालिका सडक सञ्जालले जोडिएको धेरै समय भएको छैन । बेनिघाट आरुघाट हुदैँ तिब्बतको नाका लार्के जोड्ने गरी नेपाली सेनाले सडक ट्रयाक खोल्ने क्रममा केही महिनाअघि मात्रै यस पालिकामा सडक पुगेको हो । यस क्षेत्रमा सवारी आवागमन हुन थालेसँगै ट्राफिक सचेतना कार्यक्रम बिस्तार गरिएको अर्यालले बताए । पालिकाको केन्द्र सिर्दिवासस्थित बुद्ध माध्यमिक बिद्यालयमा भएको कार्यक्रममा बिद्यार्थी र अभिभावकको सहभागीता रहेको थियो ।
कार्यक्रमकै अवसरमा अपराध न्यूनिकरण तथा कानूनी सचेतनामूलक सम्बन्धी प्रशिक्षण समेत दिइएको छ । पालिकाको समन्वय र जिल्ला प्रहरी कार्यालय गोरखाको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा साइवर अपराध, लैङ्गिक हिंसा, लागूऔषध दुव्र्यसनी, बालयौन दुव्र्यवहार, बालविवाह लगायतका बारेमा सचेत गराइएको प्रहरी निरीक्षक सरोज कार्कीले बताए ।
‘अहिले सबैभन्दा बढी इन्टरनेटबाट हुने साइवर अपराध बढ्दो छ,’ उनले भने, ‘त्यसबाट कसरी बच्ने र कानूनी उपाय के के हुन्छन् भनेर प्रशिक्षण गराएका हौ ।’ अपराध न्यूनिकरणमा कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेसँगै बिद्यालयका प्रधानाध्यापक, शिक्षक, बिद्यार्थी र अभिभावकको सहभागीता रहेको थियो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत उक्त पालिकामा कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




