| आइतवार, जेष्ठ १६, २०८३

एमाले गोरखाद्वारा उम्मेद्वारका लागि चक्रे मिलनसहित १४ जना सिफारिस

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि एमाले गोरखाले दुवै निर्वाचन क्षेत्रबाट १४ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । पार्टीले गोरखा–१ बाट ८ र क्षेत्र नम्बर २ बाट ६ जना उम्मेदवारको नाम सिफारिस गरेको हो ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटि १ र २ को बैठकको सिफारिसका आधारमा जिल्ला कमिटिले शनिबार प्रदेश कमिटिलाई नाम सिफारिस गरेको एमाले जिल्ला सचिव काजीराम रोकाले बताए । गोरखा १ मा अमिर काजी थापा, आरसी लामिछाने, कृष्णप्रसाद काप्री, चेतबहादुर रोकाहा, विशाल थापा, डा. मोदराज बगाले, देवी थापा र लिलानाथ न्यौपानेको नाम सिफारिस गरिएको उनले बताए ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा मिलन गुरुङ (चक्रे मिलन), बाबुराम थापा, शशिकला देवकोटा पोखरेल, अब्दुस सलाम मियाँ, कमल दानी र वसन्त गुरुङको नाम सिफारिस गरिएको छ । मियाँ २०७९ को निर्वाचनमा पनि पराजित भएका थिए । विवादित छविका चक्रे मिलनलाई उम्मेदवार सिफारिस गरेपछि सामाजिक सञ्जालमा विभिन्न किसिमका टिप्पणी भइरहेका छन् ।

निर्वाचन क्षेत्र समन्वय किमिटिको सिफारिसका आधारमा जिल्ला कमिटिले रायसहित प्रदेशलाई नाम सिफारिस गरेको एमालेले जनाएको छ । प्रदेश कमिटिले सिफारिसपछि उम्मेदवारको अन्तिम निर्णय गर्ने अधिकार भने केन्द्रलाई रहने जिल्ला सचिव रोकाले बताए ।

प्रतिक्रिया दिनुहोस्