| सोमवार, कार्तिक २३, २०८३

उत्तरी गोरखाका आधा दर्जनभन्दा धेरै गाउँहरु लामो समयदेखि विद्युतविहिन

यतिबेला गोरखाका धेरै गाउँहरु विद्युतविहिन भएका छन् । चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकाका आधा दर्जनभन्दा धेरै गाउँबस्ती बिगत तीन हप्तादेखि विद्युत विहिन भएका स्थानीयहरुले बताएका छन् । चुमनुब्री गाउँपालिका १ सामागाउँ र साम्दो तीनसातादेखि विद्युतविहिन भएको छ ।

मङ्सीरको अन्तिम सातादेखि विद्युत सेवाविहिन भएको सामागाउँ र साम्दोका तीनसय घरधुरीका बासिन्दाको अवस्था अहिलेसम्म उस्तै छ । धार्चे गाउँपालिका १ को रुञ्चेत र केरौंजाका गरी करिब सातसय घरधुरी तीनसातादेखि अन्धकारमै रात गुजारिरहेका छन् । चुमनुब्री गाउँपालिका ३ जगत, सल्लेरी र भालुवनका बासिन्दा पनि तीनसातादेखि विद्युत सेवा उपभोग गर्नबाट बञ्चित छन् ।

१०० किलोवाट क्षमताको सामागाउँ लघुजलविद्युत आयोजनाको टर्बाइन फुटेर सामागाउँ र साम्दोका गाउँबस्ती विद्युत सेवाबिहिन भएको उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर लामाले जानकारी दिए । ‘निर्माण भएको पाँच बर्षमै टर्बाइन फुटेर विद्युत उत्पादन हुन सकेन’, लामाले भने, ‘हेलिकोप्टरमा झुण्ड्याएर ल्याइयो, तर नेपालमा बन्न सकेन । इण्डियाबाट सामान ल्याउनु पर्ने रहेछ । अब मर्मत गरेर फेरि हेलिकोप्टरमै झुण्ड्याएर लैजानु पर्छ । केही दिन अझै लाग्छ ।’

त्यस्तै १०० किलोवाट क्षमताकै रुञ्चेतखोला जलविद्युत आयोजनाको टर्बाइनमा आएको खराबी अझै समाधान हुन सकेको छैन । आयोजना मर्मतसम्भार हुन नसक्दा रुञ्चेतका २५२ र केरौंजाका गरी करिब सातसय घरधुरीका बासिन्दा टुकीकै भरमा बस्नु परेको स्थानीय दीपेन्द्र गुरुङको भनाइ छ । सो टर्बाइन मर्मतका लागि पनि इण्डियाबाट सामान ल्याउनु पर्ने भएकाले मर्मत सम्भार हुन नसकेको गुरुङले बताए । विद्युत सेवा अवरुद्ध हुँदा गाउँका बासिन्दाले मोबाइल चार्जसमेत गर्न पाएका छैनन् ।

त्यस्तै ३५ किलोवाटको जगत जलविद्युत आयोजनाको टर्बाइन बिग्रिएका कारण चुमनुब्री गाउँपालिका ३ को जगत, सल्लेरी, भालुवनका ७२ घरधुरीका बासिन्दा विद्युत सेवाबाट वञ्चित भएका छन् । बिगत तीनसातादेखि गाउँलेहरु विद्युत उपभोग गर्नबाट बञ्चित भएका स्थानीय गणेश कार्कीले जानकारी दिए । सो टर्बान पनि इण्डिया लगेरै बनाउनु पर्ने भएकाले ढिलो भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्