
जगत, सल्लेरी र भालुवन तीनसातादेखि टुकीकै भरमा
चुमनुब्री गाउँपालिका वडा नं. ३ का तीन गाउँ तीनसातादेखि विद्युतविहिन छन् । चुमनुब्री प्रवेश गर्ने मुख्य स्थान जगतबजार, सल्लेरी, भालुवन र पैयुँका गरी ७२ घरधुरीका बासिन्दा बिगत लामो समयदेखि विद्युतविहिन भएको स्थानीयबासीको गुनासो छ ।
‘यहाँ विजुली बाल्न नपाएको आज १९ दिन भइसक्यो’, जगतका विशाल घलेले भने, ‘जगतका २५ घर, सल्लेरीको पनि त्यस्तै २५ घर, भालुवनका १७ घर र पैयुँका केही घर विद्युत सेवा गर्नबाट बञ्चित छौँ ।’ विजुलीबत्ती नभएपछि स्थानीय करिब ७२ घरधुरीका बासिन्दा टुकीका भरमा गुजारा गर्नुपरेको उनको भनाइ छ ।
‘टर्बाइनमा खराबी आएर बनाउन तल(बजार)मा लगेको थियो । त्यहाँ पनि नहुने भएकाले इण्डिया लानुपर्छ भन्ने भएछ’, घलेले भने, ‘१९ दिन त भइसक्यो । अझै कति दिन टुकी बालेर बस्नुपर्ने हो थाहा छैन ।’
विद्युत सेवा ठप्प भएपछि मोबाइल तथा इन्टरनेट सेवा पनि अवरुद्ध भएको अर्का लक्ष्मण कार्कीको भनाइ छ । ‘बत्ती बिग्रिएपछि जगतको मोबाइल टावरमा विद्युत विच्छेद भयो’, उनले भने, ‘त्यसैले मोबाइल नचलेको पनि थुप्रै दिन भयो ।’




