| सोमवार, कार्तिक २३, २०८३

देशकै पहिलो ‘स्मार्ट हुलाक’ बन्यो गोरखा हुलाक

गोरखा जिल्ला हुलाक कार्यालय देशकै पहिलो ‘स्मार्ट हुलाक’ कार्यालय बनेको छ । सोमबार एक औपचारिक कार्यक्रमका बीच सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले यस कार्यालयलाई नेपालकै पहिलो ‘स्मार्ट हुलाक’ घोषणा गरेका हुन् ।

‘स्मार्ट हुलाक’ घोषणा सभामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल, हुलाक विभागकी महानिर्देशक मनमाया भट्टराईसमेत सहभागी थिए । स्मार्ट हुलाक घोषणा गर्दै मन्त्री खरेलले परम्परागत हुलाक सेवालाई अब व्यवसायिक सेवाको रुपमा परिणत गर्नुपर्ने टिप्पणी गरे । ‘हुलाक सेवालाई गुड्ससँग जोड्न सकियो भने कार्यालयलाई थप चलायमान बनाउछ सकिन्छ । यसो गर्न सकियो भने राजस्व आम्दानीको स्रोत पनि बलियो हुन्छ’, उनले भने । त्यसका लागि सरकार बिशेष योजना बनाएर अघि बढ्नेछ उनले आश्वासन दिए ।

कार्यक्रममा बोल्दै मन्त्रालयकी सचिव राधिका अर्यालले गोरखा पहिलो स्मार्ट हुलाक बनेकामा बधाइ दिइन् । साथै उनले जिल्लाका सबै कार्यालयहरुलाई हुलाकसंग सम्बन्ध, समन्वय र सहकार्य गर्न समन्वयका लागि प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरिन् । १९२ देशको हुलाक नेटवर्कमा नेपालको हुलाकको पनि प्रभावशाली सहभागिता रहेको उनको भनाइ थियो ।

कार्यालयको स्रोतसाधनको अभाव सामना गर्दै स्मार्ट हुलाक बन्न सफल भएकामा गौरव गर्दै गोरखा जिल्ला हुलाक अधिकृत विनोद गैरेले स्रोतभन्दा सोच शक्तिशाली रहेको तर्क गरे । साथै उनले सेवालाई ‘डिजिटलाइज’ गर्दै प्रविधिमैत्री बनाउन सफल भएकाले स्मार्ट घोषित भएको बताए । ‘देशका अधिकांश हुलाक कार्यालयलाई स्मार्ट बनाउने भन्ने केन्द्रको योजना नै हो,’ उनले भने, ‘हामी पहिलो भयौ, गोरखाबाट शुभारम्भ भयो ।’

मुख्यतया कार्यालयबाट ‘पिट्स’ अनलाइन सेवा संचालन गर्न सफल भएकाले स्मार्ट हुलाक घोषणा भएको उनले जानकारी दिए । ‘पिट्स भनेको पोष्टल इन्टरनल ट्रयाकिङ सिस्टम हो, यो सिस्टमबाट सेवाग्राही आफूले पठाएको चिठी कतिबेला कहाँ पुग्यो भनेर सबै आफैले हेर्न मिल्छ,’ उनले भने । जिल्लाका सबै स्थानीय तहमा रहेका हुलाक कार्यालयबाट ‘पिट्स’ अनलाइन सेवा संचालन भइसकेको उनले बताए ।

अन्य सेवालाई पनि डिजिटलाइज गर्दै लगिएको उनले जानकारी दिए । उनका अनुसार जिल्लामा एक स्थानीय तह एक हुलाक कार्यालय र जिल्लाभर ३३ वटा अतिरित्त हुलाक कार्यालय रहेको छन् । कार्यक्रममा बोल्दै कार्यालय प्रमुख गैरेले डाँक गाडी नहुँदा सेवामा केही ढिलाइ भएको मन्त्रीसमक्ष गुनासो राखे । कर्मचारी जनशक्तिको अभाव रहेको बताउँदै उनले हुलाकको सेवा विविधिकरण र बिस्तारमा जोड दिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्