| आइतवार, जेष्ठ १६, २०८३

सञ्चारमन्त्री खरेलले मुख्यमन्त्री पाण्डेलाई सम्झाए चुनाव गराउने दोहोरो जिम्मेवारी

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सोमबार गोरखामा पुगी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई चुनाव गराउने दोहोरो जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन् । चुनावी वातावरण बनाउन मुख्यमन्त्रीसंग दोहोरो जिम्मेवारी रहेको सम्झाउँदै मन्त्री खरेलले दुवै भूमिका निर्वाह गर्न जोड दिएका हुन् ।

‘निर्वाचन गराउन मुख्यमन्त्रीको दोहोरो जिम्मेवारी हुन्छ, एउटा सरकारी, अर्को, राजनीतिक’, मन्त्री खरेलले मुख्यमन्त्री पाण्डेलाई भने, ‘सरकारी जिम्मेवारी पनि छ, र राजनीतिक पार्टीको केन्द्रीय नेताको हैसियतको जिम्मेवारी पनि छ । कुनै कञ्जुस्याईँ नगरी दुवै भूमिका निर्वाह गर्नुहुन मेरो विनम्र अनुरोध छ ।’ साथै उनले निर्वाचन हुनेमा कुनै पनि शंका र प्रश्न नरहेको पनि दावी गरे ।

‘आज सबै पार्टीले समानुपातिक उम्मेद्वारको बन्द सूची पेश गरेपछि निर्वाचन हुन्छ कि हुन्न होला भन्ने प्रश्न समाप्त भएको छ’, उनले भने, ‘हामी निर्धारित मितिमा निर्वाचन गरेर जतिसक्दो चाँडो राजनीतिक दलको नासो राजनीतिक दललाई नै बुझाउन आतुर छौँ । त्यसैले निर्वाचनको वातावरण बनाउन मद्दत गर्नुप¥यो ।’

निर्वाचनको वातावरण बनाउन राजनीतिक दलसंग वार्ता र संवादका लागि आफूले व्यक्तिगत रुपमा धेरै नै प्रयत्न गरेको पनि मन्त्री खरेलले बताए । ‘मैले काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर संसद पुनस्थापनाको बिकल्पभन्दा चुनावको वातावरण बनाउन विशेष अनुरोध गरेँ । लामो भलाकुसारीपछि उहाँ सकारात्मक देखिनुभयो । तर उहाँले केही सर्तहरु राख्नु भएको थियो । त्यो यहाँ नखोलौँ । पछि उहाँले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनावमा जान मनाउने वचनसमेत दिनुभयो ।’ पछि आफूले एमाले अध्यक्षलाई पनि भेटेर चुनावी वातावरण बनाउन अनुरोध गरेको बताए ।

जवाफमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफू पनि पहिल्यैदेखि निर्वाचनको पक्षमा रहेको स्पष्ट पारेका थिए । ‘म त पहिल्यैदेखि निर्वाचनको पक्षमा थिएँ । अहिले वातावरण सकारात्मक बनिरहेको छ । यो खुशीको कुरा हो’, उनले भने, ‘यो सरकारले पनि अल्लि जिम्मेवार भएर काम गर्नुपर्छ । फेसबुकमा लाइक बढाउने काम मात्र गरेर भएन ।’

प्रतिक्रिया दिनुहोस्