| शुक्रबार, बैशाख १७, २०८३

चुमनुब्री गाउँसभाद्वारा ६ वटा कार्यविधि र सार्वजनिक खरिद नियमावली स्वीकृत

चुमनुव्री गाउँपालिकाको आइतवार सम्पन्न गाउँसभाको १८ औं अधिवेशनले ६ वटा कार्यविधि र सार्वजनिक खरिद नियमावली स्वीकृत गरेको छ । पालिकाभित्र संचालन हुने बिभिन्न कार्यक्रमलाई व्यवस्थित गर्ने उद्देश्यले ‘मनास्लु दिवस’ मनाउने कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि, कृषि विकास कार्यक्रम संचालन कार्यविधि, कृषक समूह दर्ता सम्बन्धी कार्यविधि, घरेलु मदिरा प्रवद्र्धन कार्यक्रम संचालन कार्यविधि, विपद प्रभावित निजी आवास प्रवलिकरण पुनर्निर्माण तथा पुनस्र्थापना अनुदान कार्यविधि र व्यवसाय कर सम्बन्धी कार्यविधि २०८२ स्वीकृत गरेको हो ।

सार्वजनिक खरिद सम्बन्धी कार्यलाई पारदर्शी र प्रभावकारी बनाउन चुमनुव्री गाउँपालिका सार्वजनिक खरिद नियमावली २०८२ पनि स्वीकृत गरिएको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए । सभाले यस बर्षका १४ वटा योजना तथा कार्यक्रम संशोधन गरेको उनले जानकारी दिए ।

‘बिभिन्न कार्यक्रममा पालिकाको लागत साझेदारी २० लाखबाट ५ लाख बनायौँ,’ उनले भने, ‘१२ वटा योजनाको शीर्षक परिवर्तन ग¥यौँ ।’ साम्दो आमा समूह भवन निर्माणको योजनालाई क्याम्विङदेखि लार्के बजार बाटो पिसिसि गर्ने गरी शीर्षक परिवर्तन गरिएको उनले जानकारी दिए ।

उनका अनुसार गौरीशंकर आधारभूत विद्यालय भवन मर्मतको योजनालाई घ्यावो खोला नेजुवु गुम्वा पदमार्ग निर्माण र नेडोल्मा शौचालय सहितको भान्साघर निर्माणलाई न्याक गुम्वा पिसिसि बाटो निर्माणमा शीर्षकान्तर गरिएको छ । क्रयाक छ्योलिङ गुम्बा किचेन निर्माण योजनाको ठाउँमा लाङबाङदेखि सेराङ गुम्बा जाने पिसिसि बाटो निर्माण र वुद्ध मावि पुस्तकालय व्यवस्थापनको ठाउँमा गाउँ शिक्षा योजना निर्माणलाई अघि सारिएको छ ।

केही योजनाका लागि थप बजेट सुनिश्चित समेत सभाले गरेको छ । पाती ढल व्यवस्थापन योजनाका लागि ३ लाख ३० हजार, जगत चर्च किचेन डाइनिङ निर्माणका लागि २ लाख १० हजार, सिद्ध गणेश आधारभूत विद्यालय छात्रावास निर्माणका लागि २९ लाख ४० हजार र सिर्दिवास स्वास्थ्य चौकी बर्थिङ सेन्टर भवन निर्माणका लागि १ लाख ९० हजार थप बजेट सुनिश्चित गरिएको लामिछानेले बताए । यसबर्ष मनसुनजन्य विपदका कारण क्षति पुगेका बिभिन्न संरचनाहरुको मर्मत सम्भारका लागि प्रकोप व्यवस्थापन कोषबाट खर्च गर्ने निर्णय समेत सभाले गरेको उनले जानकारी दिए ।

सभाले चालु आव थप चार वटा कार्यक्रमलाई बजेट विनियोजन गर्ने निर्णय समेत गरेको छ । कडा रोग लागेकालाई औषधी उपचार खर्च, विद्यालय यन्त्र उपकरण मर्मत, तमु ल्होसार मनाउने कार्यक्रम र पर्यटकीय गन्तव्य स्थल होर्डिङ बोर्ड व्यवस्थापनका लागि रकम विनियोजन गर्ने निर्णय सभाले गरेको हो । सभाले प्रारम्भिक बाल बिकास शिक्षक तथा कार्यालय सहयोगीको पारिश्रमिक तथा पोशाकका लागि ६ लाख ५० हजार रकम थप गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्