| आइतवार, जेष्ठ १६, २०८३

गोरखाबाट प्रचण्ड, नारायणकाजीसहित सम्भावित उम्मेद्वारको नाम सिफारिस

आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीका संयोजक र वरिष्ठ नेता दुवैको नाम गोरखाबाट सिफारिस भएको छ । बिहिबार बिहान सम्पन्न पार्टीको जिल्ला कार्यालय बिस्तारित बैठकले संयोजक पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ दुवै जनाको नाम सिफारिस गरी पठाउने निर्णय गरेको हो ।

यसअघिको प्रतिनिधिसभा निर्वाचनमा गोरखा २ बाट निर्वाचित भएका पूर्वप्रधानमन्त्री प्रचण्डको नाम आउँदो फागुन २१ गते हुन लागेको चुनावमा गोरखा १ बाट सिफारिस गरिएको नेकपा गोरखाका इञ्चार्ज अमर तमुले जानकारी दिए । त्यस्तै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठको नाम गोरखा २ बाट सिफारिस गरी पठाउने निर्णय भएको तमुले जानकारी दिए ।

बैठकले गोरखा १ बाटै हरिराज अधिकारी, जगनाथ खनाल, शोभा लामिछाने र सागर श्रेष्ठको नाम सिफारिस गरेको उनले जानकारी दिए । त्यस्तै प्रतिनिधि सभा निर्वाचनका लागि गोरखा २ बाटै हितराज पाण्डे, लेखनाथ न्यौपाने, सानुमाया बस्नेत र अनिश अर्यालको नाम सिफारिस गरी पठाएको इञ्चार्ज अमर तमुले बताए ।

राष्ट्रिय सभा निर्वाचनका लागि पनि नेपाली कम्युनिष्ट पार्टीले उम्मेद्वारको नाम सिफारिस गरी पठाएको छ । राष्ट्रिय सभाका लागि खोपबहादुर कँडेल, स्थिरप्रसाद खनाल, दुर्गा न्यौपाने भट्टराईको नाम सिफारिस गरिएको उनले बताए ।

त्यस्तै बिस्तारित बैठकले समानुपातिक उम्मेद्वारका लागि पनि नाम सिफारिस गरी पठाएको पार्टीले जनाएको छ । समानुपातिक उम्मेद्वारका लागि कमला नहर्की, भगवती तिवारी, छमबहादुर गुरुङ, कञ्चन कुमाल, सुदीप नगरकोटी र कविता अर्यालको नाम सिफारिस गरिएको अमर तमुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्