
गोरखाका क्रिश्चियन समुदायद्वारा धुमधामले ‘क्रिसमस डे’ मनाइयो
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा डिसेम्बर २५, बिहिबार गोरखाको विभिन्न स्थानहरुमा ‘क्रिसमस डे’ मनाइएको छ । जिल्लाका क्रिश्चियन धर्मावलम्बीहरूले विभिन्न कार्यक्रमहरु गरेर क्रिसमस दिवस मनाएका हुन् ।
जिल्ला सदरमुकामको ‘लिभिङ्ग होप चर्च, विलिभर्स चर्च, कर्नर स्टोन चर्च लगायत विभिन्न चर्चहरुमा हर्षउल्लासका साथ क्रिसमस डे मनाइएको त्यहाँका विश्वासीहरुले बताएका छन् । प्रार्थना, प्रवचन, नाचगान र सामुहिक भोज गरेर धुमधामले क्रिसमस मनाइएको उनीहरुको भनाइ छ ।
आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । विश्वका धेरै मानिसले मनाउने क्रिसमस दिवस नेपालमा भने २०६३ सालपछि महोत्सवका रूपमा मनाउन थालिएको हो ।
वसका अवसरमा २०६३ सालदेखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । २०७५ सालदेखि २०७७ सम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । २०७८ सालदेखि फेरि सबैलाई सार्वजनिक बिदा दिइएको छ ।
पछिल्लो समय मुख्य शहरका प्रमुखस्थल क्रिसमस ‘ट्रि’ ले सजाउने गरिएको छ ।




