| शुक्रबार, बैशाख १७, २०८३

माछिखोलामा सवारी पार्किङलाई थप व्यवस्थित बनाइने

धार्चेको केन्द्र माछिखोलामा सवारी पार्किङलाई थप व्यवस्थित बनाइने भएको छ । बुधबार बसेको सरोकारवाला निकायहरु बीचको बैठकले उक्त निर्णय गरेको हो । माछीखोलाको कवड्हल अगाडी बसपार्क निर्माण गरेर पार्किङ व्यवस्थापन गरिने गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत बुद्धिराम बस्नेतले बताए ।

‘यसअघि माछिखोलामा यत्रतत्र सवारी पार्किङ गर्ने चलन थियो । जसले गर्दा भिड्भाड हुने र अन्य सवारीहरु पास हुन नसक्ने अवस्था थियो’, उनले भने, ‘अव्यवस्थित पार्किङलाई दुरुत्साहन गर्दै अबदेखि अनिवार्य रुपमा बसपार्कमा सवारी पार्किङ गर्नुपर्ने निर्णय आजको बैठकले गरेको छ ।’ गाउँपालिकाले माछिखोलाको कबड्हल सिसिटिभी क्यामेरा, शौचालय लगायत पूर्वधारसहितको बसपार्क निर्माण गरेको प्रमुख प्रशासकिय अधिकृत बस्नेतले जानकारी दिए ।

उनका अनुसार बैठकमा सवारी साधनहरुले मनपरी भाडा लिने गरेको विषयमा पनि छलफल भएको थियो । छिटै नयाँ समिति गठन गरेर अस्थायी रुटको सवारी भाडादर निर्धारण गर्ने निर्णय भएको उनले बताएका छन् । ‘पठाओ तथा जिपहरुले मनपरी भाडा असुली गरेको गुनासो आएपछि स्थानीय र पठाऔँ चालकहरुलाई बोलाएर बैठकमा दोहोरो छलफल पनि गरेका छौँ । अब छिटै एउटा समिति बनाएर पठाओ तथा जिपहरुको भाडादर निर्धारण गर्ने निर्णय भएको छ’, उनले भने ।

यस्तै, विभिन्न स्थानहरुमा ट्राफिक सिग्नल राख्ने निर्णय भएको उनको भनाइ छ । धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा जनप्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय व्यवसायी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्