
तीन विधेयक पास गर्दै सहिद लखनको १८ औं अधिवेशन सम्पन्न
तीन विभिन्न विधेयक सर्वसम्मतिले पास गर्दै सहिद लखन गाउँपालिकाको १८ औं अधिवेशन सम्पन्न भएको छ । बुधबार सुरु भएको गाउँसभाको अधिवेशनका सबै कार्यसूची एकै दिनमा सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले जानकारी दिए ।
अधिवेशनमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ पारित भएको छ । ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संघ र प्रदेशमा बनिसकेको अबस्था थियो । हाम्रो पालिकामा बन्न बाँकी थियो’, प्रमुख प्रशासकीय अधिकृत मगरले भने, ‘यो भनेको गाउँपालिकाको आन्तरिक नियन्त्रण गर्ने प्रणाली नै हो । यसले बजेट विनियोजनदेखि लिएर आर्थिक अनुशासन कायम गर्नका लागि तथा गाउँपालिकाको जिन्सी र लेखा व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन मद्दत गर्नेछ । आर्थिक पाटो, योजनाको पाटो र बेरुजु फस्र्यौटलाई व्यवस्थित बनाउनेछ ।’
त्यसैगरी अधिवेशनले गाउँसभा सचिवालय स्थापना र कार्यसञ्चालन कार्यविधि २०८२ पनि पारित गरेको छ । ‘हाम्रो गाउँपालिकामा गाउँसभा छ । तर सचिवालयलाई कानूनी रुप दिन सकिरहेका थिएनौँ । यो कार्यविधिले गाउँसभाको सचिवालयलाई वैधानिकता दिन्छ । अबदेखि गाउँसभाको बैठक सञ्चालनदेखि त्यहाँ लैजाने प्रस्तावहरुलाई प्रक्रियागत रुपमा स्पष्ट र कानूनी रुपले वैधानिक र व्यवस्थित बनाउने छ ।’
विनियोजन ऐन २०८२ को पहिलो संशोधन पनि अधिवेशनले पास गरेको छ । ‘कम आवश्यक भएका शीर्षकहरुका रकमहरुलाई बढि आवश्यक भएका शीर्षकहरुमा रकमान्तर भएका छन्’, प्रमुख प्रशासकीय अधिकृत मगरले भने, ‘त्यस्तै न्यायिक समितिको अर्धवार्षिक प्रतिवेदन र राजस्व परामर्श समितिको अर्धवार्षिक प्रतिवेदन पेश भएका छन् ।’
न्यायिक समितिको प्रतिवेदन र राजस्व परामर्श समितिको प्रतिवेदन उपप्रमुख इन्दिरा तिवारीले पेश गरेकी थिइन् । विनियोजन ऐन २०८२ को पहिलो संशोधन पनि उपप्रमुखले पेश गरेकी थिइन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ आर्थिक समितिका संयोजक दीपक पाण्डेले पेश गरेका थिए ।
गाउँसभा सचिवालय स्थापना र कार्यसञ्चालन कार्यविधि २०८२ सम्बन्धी विधेयक दिलिपनारायण थापाले पेश गरेका थिए ।
पेश भएका सबै प्रस्ताव सर्वसम्मतिले पास गरेका प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले जानकारी दिए ।




