
सिक्दै कमाउँदै कार्यक्रमअन्तरगत तरकारी खेती गर्दै विद्यार्थीहरु
प्रतीक्षा आले ।
सैद्धान्तिक सिकाइमात्र नभै व्यवहारिक ज्ञान दिने उद्देश्यले गोरखा नगरपालिका ७ को नवज्योति माविले विद्यार्थीहरुलाई ‘सिक्दै कमाउँदै’ कार्यक्रम लागु गरेको छ । पढाइसँगै व्यवसायिक शिक्षामा जोड दिने उद्देश्यका साथ सुरु भएको ‘सिक्दै कमाउँदै’ कार्यक्रम अन्तरगत सो माविका विद्यार्थीहरु तरकारी खेतीमा तल्लीन भएका छन् ।
विद्यालयले लागु गरेको ‘बुक फ्रि फ्राइडे’ अवधारणा अनुसार विद्यार्थीहरुलाई हरेक हप्ताको शुक्रबार तरकारी खेतीमा सक्रिय गराइएकोे विद्यालयका शिक्षक सुमन ज्ञवालीले बताए । ‘हामीले सिक्दै कमाउँदै कार्यक्रमअन्तरगत तरकारी खेती गर्दै आएका छौँ’, उनले भने, ‘विद्यार्थीहरुले काउली, बन्दा, आलु, प्याज, धनियाँ, सिमीलगायत विभिन्न मौसमी तरकारीहरु उत्पादन गरेर बेच्ने गरेका छन् ।’ विद्यालयले गोरखा नगरपालिकासंग समन्वय गरी गतवर्षबाट सिक्दै कमाउँदै कार्यक्रम लागु गरेको उनले जानकारी दिए ।
सो कार्यक्रमका लागि नगरपालिकाले गत वर्ष २०८१ मा पाँच लाख र २०८२ का लागि डेढ लाख रुपैँया अनुदान दिएको उनको भनाइ छ । सो रकमबाट विद्यालयले दुई वटा टनेल निर्माण गरेर तरकारी खेती गर्दै आएको प्रधानाध्यापक वेदशर्मा भट्टले बताए । सिक्दै कमाउँदै कार्यक्रमले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिनुका साथै आयआर्जनमा समेत जोडेको उनको भनाइ छ ।
‘हाम्रा प्रायः विद्यार्थीहरु कोदालो समेत चलाउन नजान्ने अवस्थाका थिए । यो कार्यक्रमले उनीहरुलाई कृषि सम्बन्धी व्यवहारिक ज्ञान दिएको छ’, प्रअ भट्टले भने, ‘केही समयअघि मात्र विद्यार्थीहरुले २२÷२३ हजारको धनियाँ बेचे, समय समयमा अन्य मौसमी तरकारीहरु पनि बेच्दै आएका छन् ।’ विद्यालयले तरकारी खेती रेखदेख गर्नका लागि भनेर एकजना कर्मचारी समेत नियुक्त गरेको उनी बताउँछन् ।
उनी भन्छन्, ‘तरकारी खेतीबाट सन्तोषजनक आम्दानी भएको छ । खेतीबाली रेखदेख गर्नका लागि भनेर एकजना कर्मचारी पनि राखेका छौँ ।’ तरकारी बिक्री गरेको रकम विद्यालयमा अध्ययनरत्त विपन्न विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण लगायतको काममा खर्च गरिएको उहाँको भनाइ छ । सिक्दै कमाउँदै कार्यक्रमअन्तरगत विद्यालयले दुईरोपनी क्षेत्रफलमा बेसार खेती गरेको छ । यस्तै, डेढ रोपनीमा अदुवा खेती समेत गरेको विद्यालयको भनाइ छ ।
‘केरा पनि लगाएका छौँ, अहिलेसम्म ३–४ घरी त बेचि पनि सक्यौँ’, विद्यालयका प्रअ वेदशर्म भट्टले भने, ‘गतहप्ता मात्र करिब २०० केजी आलु रोपेका छौँ ।’ कार्यक्रम विषेशगरी कक्षा ९ र १० का विद्यार्थीहरुलाई लक्षित गरेर संचालन गरेको उनले बताएका छन् ।




