
गोरखा भेलाबाट १७ बुँदे बराम अडानपत्र पारित
अतिसीमान्तकृत बराम/बरामु समुदायको उद्गमस्थल गोरखामा सम्पन्न दुईदिने बराम भेलाले १७ बुँदे अडानपत्र पारित गरेको छ । बराम समुदायको बाक्लो बस्ती रहेको जिल्लाको भीमसेनथापा गाउँपालिका ५ खान्चोकमा शनिबार र आइतबार आयोजना गरिएको भेलाले १७ बुँदे बराम अडान पत्र पारित गरेको नेपाल बराम संघका सल्लाहकार जगत बरामले जानकारी दिनुभयो ।
भेलाले गोरखाको भीमसेनथापा, आरुघाट र बारपाक सुलिकोट गाउँपालिकालाई ‘बराम स्वयत्त क्षेत्र’ घोषणा गर्न भनी अदालतले सम्बन्धित निकायलाई दिएको आदेश कार्यान्वयन गराउन निरन्तर पहल गर्ने निर्णय गरेको छ । बराम समुदायको सामाजिक, आर्थिक र साँस्कृतिक पक्षको विकास र उत्थानका लागि स्थानीय तहले छुट्टै ऐन बनाउनुपर्ने तथा विशेष कार्यक्रम संचालन गर्नुपर्ने माग अडानपत्रमा गरिएको छ ।
‘बराम भाषा (बालकुरा)मा पठनपाठन गर्न पाउने मौलिक हक कार्यान्वयन गर्न र बराम समुदायलाई गाउँसभा, नगरसभा, प्रदेश सभा, संघीय संसद र सार्वजनिक सेवामा सहभागिताको हक कार्यान्वयन गराउन माग गर्ने निर्णय भएको छ’, बराम संघका सल्लाहकार जगत बरामले भन्नुभयो ।
बराम भेलामा उपस्थित बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट तथा भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराले बराम जातिको उत्थान र विकासका लागि नीतिगत तथा विभिन्न कार्यक्रम तर्जुमा गरी अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
संघको आयोजना र बराम उत्थान केन्द्रको समन्वयमा खान्चोकमा दुई दिने वृहत् भेला सम्पन्न भएको थियो । भेलामा अति सीमान्तकृत बराम समुदायहरुको सामाजिक, आर्थिक र शैक्षिक अवस्थाको बारेमा छलफल गरी विभिन्न निश्कर्ष निकालिएको थियो ।
आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिब ज्ञानेन्द्र पुन, आरुघाट गाउँपालिकाको अध्यक्ष राजु गुरुङ, उपाध्यक्ष कल्पना नेपाली, बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट, भीमसेनथापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जारा तथा उपाध्यक्ष अमृता वस्ती लगायतको उपस्थिति रहेको थियो ।




