
गोरखा विकास बचत तथा ऋण सहकारी संस्थाको २५ औँ वार्षिक साधारण सभा
गोरखा सदरमुकाममा रहेको गोरखा विकास बचत तथा ऋण सहकारी संस्थाले आफ्नो रजत जयन्ती अर्थात २५ औँ वार्षिक साधारण सभा मनाएको छ । शनिबार एक कार्यक्रम आयोजना गरेर संस्थाले आफ्नो रजत दिवस मनाएको हो ।
कार्यक्रममा सहकारीका सचिव नवराज उपाध्यायले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष बद्रीप्रसाद पोखरेलले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका सहकारीका अध्यक्ष जीवनज्योति श्रेष्ठले बताए । साथै कार्यक्रममा सहकारीका विभिन्न उपसमितिहरुले आफ्नो प्रतिवेदन प्रस्तुत गरेको उनले जानकारी दिए ।
सहकारीमा कुल सदस्य ६ सय ४२ जना रहेका छन् । त्यस्तै, सहकारीको हाल सम्मको कुल पुँजी १२ करोड ३२ लाख २७ हजार ६४५ रुपैँया रहेको अध्यक्ष श्रेष्ठको भनाई छ ।
रजत जयन्तीको अवसर पारेर संस्थाले आफ्नो जेष्ठ नागरिक सदस्य धिरजबहादुर मास्केलाई सम्मान गरेको छ । यस्तै, असल बचतकर्ता स्यामबाबु जोशी र असल ऋणी शिवध्वज खत्रीलाई सम्मान गरेको संस्थाले जनाएको छ ।
संस्थाका अध्यक्ष जीवनज्योति श्रेष्ठको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी तुलसीनारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गोरखा नगरपालिका वडा नं ६ का वडाअध्यक्ष राजेन्द्रकुमार जोशी, संस्थाका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।




