| बुधबार, असार ९, २०८३

एक महिनामा १४ फरार प्रतिवादी पक्राउ, ८ लाख बढि बिगो रकम असुल

एक महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालयमा २४ वटा मुद्दा दर्ता भएका छन् । मंसिर महिनामा जघन्य तथा गम्भिर प्रकृतिका ५ वटा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ । महिला, बालबालिका र ज्येष्ठ नागरिक सम्बन्धित अपराधका ९ वटा मुद्दा दर्ता भएको प्रहरी निरीक्षक राजन लम्सालले बताए । ‘मंसिर महिनामा मात्रै आर्थिक अपराधका २ र अन्य ८ वटा मुद्दा दर्ता भएका छन्,’ उनले भने, ‘चालु मुद्दाका ११ प्रतिवादी पक्राउ परिसकेका छन् ।’

त्यस्तै एक महिनामा १४ जना फरार प्रतिवादी पक्राउ गर्न सफल भएको उनले जानकारी दिए । कैद सजायँ र जरिवाना तोकिएका उनीहरुबाट ८ लाख ९० हजार बिगो रकम असुल उपर गरिएको उनको भनाइ छ । कार्यालयको तथ्याङ्क अनुसार मंसिर महिना महिला बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ चार वटा उजुरी परेका छन् ।

कुल ८ जना मानिस हराएका थिए । ‘चार जना महिला, दुई जना पुरुष, ज्येष्ठ नागरिक र बालबालिका १/१ जना गरी ८ जना हराएका थिए, उनीहरुमध्ये ५ जना फेला परिसकेका छन्,’ प्रहरी निरिक्षक लम्सालले भने । उनका अनुसार एक महिनाको अवधिमा चार वटा घरेलु हिंसाका उजुरी परेका छन् । सबैभन्दा धेरै बारपाक सुलिकोट गाउँपालिकामा घटना भएको बताइएको छ । एक महिनामा सात जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । आत्महत्या गर्नेमा सबैभन्दा बढी ४० देखि ६० बर्ष उमेर समूहका रहेको कार्यालयले जनाएको छ ।

मंसिर महिनामा कुल आठ वटा सवारी दुर्घटना भएका छन् । ट्राफिक नियम उल्लघंन गर्ने ४ सय ५४ सवारी कारवाहीमा परेका छन् । उनीहरुबाट ३ लाख ७९ हजार राजश्व संकलन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्