| सोमवार, कार्तिक २३, २०८३

आत्महत्या रोकथामका लागि मिडियासँग अन्तरक्रिया

मानसिक स्वास्थ्यका लागी काम गर्ने कोसिस नेपालले जिल्लामा आत्महत्या रोकथामका लागी मिडियासँग अन्तरक्रिया गरेको छ । सोमबार ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने मुल नाराका साथ संस्थाले जिल्लामा कार्यरत्त मिडियाकर्मीहरुसँग अन्तरक्रिया गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा कोसिस नेपाल, विभिन्न मिडियाहरु र राज्य संयन्त्र मिलेर आत्महत्या रोकथामका लागी के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको संस्थाका परियोजना अधिकृत सन्तोष पौडेलले बताए । संस्थाको मुख्य उद्देश्य समाजमा आत्महत्या न्यूनिकरण गर्नु र व्यक्तिको मानसिक स्वास्थ्य सुदृढीकरण गर्नु रहेको उनले जानकारी दिए । मिडियामार्फत आत्महत्या न्यूनिकरणका लागी सकरात्मक सन्देश फैलाउनका लागी कार्यक्रम आयोजना गरिएको उनको भनाई छ ।

कार्यक्रममा संस्थाका वरिष्ठ सामुदायिक अभियानकर्ता विपिन घिमिरेले आत्महत्या भनेको के हो, यसका कारण, यसको प्रभाव, न्युनिकरणका उपायहरु र आत्महत्या रोकथामका लागी कोसिस नेपालले गर्दै आएको अभ्यास लगायतका विषयमा अन्तरक्रिया गरेका थिए । संस्थाले व्यक्तिको मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको घिमिरे बताउँछन् ।

आफूहरुले समुदायस्तर, विद्यालय र स्वास्थ्य संस्थासम्म पुगेर मनोसामाजिक परामर्श दिँदै आएको उनले जानकारी दिए । उनका अनुसार कोसिस नेपालले मानसिक रुपमा विक्षिप्त भएकाहरुको पहिचान गरी उनीहरुको उद्धार गर्ने र मनोसामाजिक परामर्श दिने काम गर्दै आएको छ । साथै, आत्महत्या रोकथामको क्षेत्रमा पनि संस्थाले काम गर्दै आएको उनले बताएका छन् ।

कोसिस नेपालले जिल्लाको गोरखा नगरपालिका, सिरानचोक गाउँपालिका र पालुङटार नगरपालिकामा आफ्नो कार्यक्रम संचालन गरेको छ । सन् २०२४ बाट संस्थाले जिल्लाको तीन पालिकाहरुमा परियोजना संचालन गर्दै आइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्