| शुक्रबार, बैशाख १७, २०८३

गोरखामा निर्माण व्यवसायी संघले गोलाप्रथा गरेर ठेक्का बाँड्दै, ठेक्का बिगारेको भन्दै व्यवसायीमाथि कुटपिट

बिकास मरहट्टा । सार्वजनिक खरिद ऐन र नियमावलीको धज्जी उडाउँदै निर्माण व्यवसायी संघ गोरखाले जिल्लाका ठेक्कामा सिण्डिकेट लाद्ने गरेको पाइएको छ । प्रतिस्पर्धा गर्न चाहनेलाई धम्क्याउदै आफू निकटका व्यवसायीलाई मिलेमतोमा ठेक्का बाँड्ने गरेको खुलासा भएको हो ।

स्रोतका अनुसार संघले जिल्लामा यो बर्ष खुल्ने ठेक्काहरु गोलाप्रथामार्फत आफू निकटका व्यवसायीलाई भागवण्डा गरिसकेको छ । ‘ठेक्का मिलाउन भनेर पन्ध्र दिनदेखि संघमा पटक पटक मिटिङ बस्यो,’ नाम उल्लेख नगरिदिन अनुरोध गर्दै एक व्यवसायीले भने, ‘एक हप्ताअघि गोलाप्रथा गरेर ठेक्काहरु भागवण्डा भएको हो ।’ खुलेका ठेक्का क्रमश पाउने र अन्यले त्यसमा दावी नगर्ने शर्तमा १ सय १६ नम्वरसम्म गोलाप्रथा भइसकेको उनले बताए ।

प्रतिस्पर्धा गरेमा भागवण्डा बिग्रिने भन्दै टेण्डर फर्म दर्ता गर्नेलाई तह लगाउन चुल्ठे मुन्द्रेको ग्याङ पनि परिचालन गरिएको स्रोत बताउँछ । ‘पहिले अन्य पालिकाका निर्माण व्यवसायीलाई पनि समेटेर ठेक्का भागवण्डा गर्ने भन्ने थियो तर, उनीहरु मिटिङमै आएनन् । त्यसपछि आफूले भनेको नमान्ने र फर्म बिड गरेर सेटिङ बिगार्न खोज्नेलाई ठिक पार्न भन्दै संघले १०/१२ जनाको एउटा टिम पनि खडा गरेको छ,’ स्रोतले भन्यो ।

तर आइतवार पूर्वाधार बिकास कार्यालयले खुलाएको ठेक्कामा संघको सेटिङ असफल देखियो । भागवण्डा भएका ठेक्कामा सहमति जनाएकामध्येकै केही व्यवसायीले पनि प्रतिस्पर्धा गर्न आवेदन दर्ता गरेपछि विवाद चुलियो । ठेक्का बिगारेको भन्दै पश्चिमकाली निर्माण सेवाका प्रोपराइटर रंजित कुँवरमाथि कुटपिटसमेत भयो । उनको घरमा तोडफोड समेत भएको स्रोत बताउँछ । यसबारे कुँवरसँग थप बुझ्न खोज्दा फोन सम्पर्क हुन सकेन ।

कुल २५ वटा ठेक्कामध्ये ५ वटा मात्रै संघको सेटिङ अनुसार भयो अर्थात पाँचवटामा एक–एक निर्माण कम्पनीको मात्र आवेदन प¥यो । ठेक्का नम्वर १८ मा छेवेटार कन्स्ट्रक्सन कम्पनी, ठेक्का नम्वर १३ मा श्रीराम निर्माण सेवा, ठेक्का नम्वर १४ मा आरए कन्स्ट्रक्सन, ठेक्का नम्वर १७ मा माता नवदुर्गा कन्स्ट्रक्सन र ठेक्का नम्वर २१ मा जयकाली निर्माण सेवाको आवेदन परेको पूर्वाधार बिकास कार्यालयले जनाएको छ । अन्य ठेक्कामा भने दुइ देखि सात वटासम्म निर्माण कम्पनीको आवेदन परेको कार्यालयका इन्जिनियर कपिल काप्रीले बताए ।

माओवादी निकट निर्माण व्यवसायीहरुको मात्र ठेक्का सेटिङ अनुसार मिलेको स्रोतको दावी छ । ‘माओवादीका व्यवसायीको भागमा परेको ठेक्का सबै सेटिङ अनुसार मिलेको छ, अरुको भागमा परेको भने बिग्रिएको छ, माओवादी आफैले पनि बिगार्न उक्साहट गरेको हुनसक्छ,’ स्रोत भन्छ ।

ठेक्का भागवण्डाको योजना बिफल भएपछि अहिले संघको फेसबुक ग्रुपमा केही व्यवसायीहरुले धम्क्याउने किसिमका म्यासेजहरु लेख्न थालेका छन् । गोरखाको बिकासमा निर्माण व्यवसायीको भूमिका नाम रहेको उक्त फेसबुक ग्रुपमा ‘ठेक्का बिगार्नेको खुट्टा काट्नुपर्छ’, ‘ठेक्का चोर्नेको हात काट्नुपर्छ’ जस्ता धम्किपूर्ण म्यासेजहरु हुन थालेका छन् । ठेक्का हाल्ने अन्यलाई पनि उनीहरुले थर्काउने गरेको खुलासा भएको छ । ‘भागवण्डामा परेका बाहेक अरुले ठेक्का हालेमा थर्काएर हुन्छ की धम्क्याएर हुन्छ झिक्न लगाउने भन्ने यिनीहरुको योजना हो, अहिले त्यही गरिरहेका छन्,’ स्रोत भन्छ । ठेक्का हाल्न पाउने अधिकार सबै निर्माण व्यवसायीलाई रहेको भन्दै संघको अगुवाइमा यस्तो काम हुनु गलत भएको भन्दै केही व्यवसायीले असन्तुष्टी जनाए ।

यता निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष सूर्य भण्डारीले प्रतिस्पर्धामा नगई मिलेर काम गर्न निर्माण व्यवसायीलाई आफूले आग्रह गरेको भनी घुमाउरो भाषामा भागवण्डाको स्वीकार गरेका छन् । व्यवसायीलाई धम्क्याउने र थर्काउने कुराबारे आफू अनविज्ञ रहेको भन्दै उनी पन्छन खोजे । यसबारे बुझ्ने उनले आश्वासन दिए । तर उनकै नेतृत्वमा सेटिङमा ठेक्का भागवण्डा गर्ने र नमान्नेलाई धम्क्याउने काम भइरहेको स्रोतको दावी छ ।

पूर्वाधार बिकास कार्यालयका निमित्त प्रमुख गणेश सुवेदीले यो बिषयमा आफू जानकार नभएको बताए । ‘कसले ठेक्का भागवण्डा ग¥यो के ग¥यो हामीलाई थाहा हुदैन, इबिडिङ मार्फत देशभरबाट जसले पनि ठेक्का हाल्न पाउछन्, कसैले रोकेर रोकिने भन्ने हुदैन,’ उनले भने । सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ अनुसार खुल्ला प्रतिस्पर्धा मार्फत स्वच्छ र निष्पक्ष ढंगले ठेक्का हाल्न पाउने अधिकार सबै निर्माण व्यवसायीलाई रहेको उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्