| शनिबार, अशोज ९, २०८३

जागेश्वर माविमा पाँच दिने स्वर्ण महोत्सव

भीमसेनथापा गाउँपालिका ८ स्थित जागेश्वर माविको पाँच दिने स्वर्णजयन्ती समारोह सुरु भएको छ । पुस १ गते समापन गर्ने लक्ष्यका साथ गत शुक्रबारदेखि स्वर्ण जयन्ती समारोह सुरु भएको प्रधानाध्यापक यदुनाथ सापकोटाले जानकारी दिए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वर्णजयन्ती समारोहको उद्घाटन गरेका हुन् ।

स्वर्ण जयन्ती उद्घाटन समारोहमा मुख्यमन्त्री पाण्डेले स्वर्ण स्तम्भको अनावरण गरेका थिए भने स्वर्णजयन्ती स्मारिकाको विमोचन गरेका थिए । दोस्रो दिन पालिकाका माध्यमिक विद्यालय स्तरीय फुटबल प्रतियोगिता सञ्चालन गरिएको थियो । आठ टिम सहभागी सो प्रतियोगितामा आयोजक जागेश्वर माविका विद्यार्थीहरुको टिम प्रथम, विन्द्रावती मावि मसेलको टिम द्वितीय र प्रभात मावि धावाको टिम तृतीय भएको छ ।

तेस्रो दिन आइतबार पालिकास्तरीय नृत्य प्रतियोगिता आयोजना गरिएको थियो । १० टिमको सहभागिता रहेको सो प्रतियोगितामा सरस्वती मावि प्रथम, नवजागृति चण्डी मावि द्वितीय र जागेश्वर मावि तृतीय भएका थिए । चौथो दिन सोमबार पालिकाका माविस्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने र सोको फाइनल समापनको दिनमा गर्ने कार्यक्रम रहेको प्रधानाध्यापक सापकोटाले जानकारी दिए ।

साथै समापनको दिनमा गोरखा घर भई काठमाडौंमा रहेर कलाकारिता गरिरहेका कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम अयोजना गर्ने कार्यक्रम रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्