
एमालेको ११ औं महाधिवेशन सुरु :केन्द्रीय सदस्यमा गोरखाबाट पाँच जनाको दाबी
शनिबारबाट सुरु भएको नेकपा एमालेको ११ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेद्वार बन्न गोरखाका पाँच नेताहरुले तयारी गरेका छन् ।
निवर्तमान केन्द्रीय समितिका सदस्य तथा हाल महाधिवेशन आयोजक समितिका सदस्य रहेका रामशरण बस्नेत र सम्झना देवकोटाले पुनः केन्द्रीय समितिमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्
बस्नेत र देवकोटालगायत थप तीनजनाले पनि केन्द्रीय सदस्य पद दाबी गर्ने जनाएका छन् । पार्टीको जिल्ला कमिटीका निवर्तमान अध्यक्ष प्रेम गुरुङ, निवर्तमान उपाध्यक्ष कृष्ण नेपाली र करिब १५ बर्षसम्म एमालेका जिल्ला कमिटीका प्रमुख रहेर काम गरेका बाबुराम थापाले अहिले केन्द्रीय सदस्य पदमा दाबी गर्ने जनाएका हुन् ।
केन्द्रीय सदस्यका आकांक्षी पाँचै जना लामो समयअघिदेखि काठमाडौंमा रहेर भेटघाट तथा गृहकार्यमा व्यस्त छन् । ‘पार्टीको जिल्ला कमिटीको नेतृत्वमा रहेर काम गरेको अनुभव छ । अब त्यसपछि राजनीतिलाई निरन्तरता दिने भनेको केन्द्रीय कमिटी नै त हो’, प्रेम गुरुङले भने, ‘त्यसैले मेरो दाबी स्वभाविक छ । केन्द्रीय पदाधिकारीहरुसंग भेटघाट र परामर्श गर्ने क्रम पनि जारी छ ।’
कृष्ण नेपालीले पनि आफूलाई केन्द्रीय सदस्य बनेर केन्द्रको राजनीतिको दाबेदार भनेका छन् । ‘जिल्लाको पदाधिकारीमा रहेर लामो समय काम गरियो । प्रदेशको मुक्ति समाज नेपालको इञ्चार्ज भएर पनि काम गरिसकेको छु’, नेपालीले भने, ‘यो अबस्थामा अब केन्द्रमा रहेर राजनीतिलाई निरन्तरता दिने चाहना राख्नु स्वभाविकै छ ।’ आफू पनि केन्द्रीय तहका नेताहरुसंग भेटघाट र परामर्शमा व्यस्त रहेको बताएका छन् ।
खुल्लातर्फ वा क्लस्टरबाट चुनाब लड्ने भन्ने बारे केन्द्रीय नेताहरुसंग परामर्श भइरहेको उनीहरुको भनाइ छ ।




