
तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान डा. राजुबाबु श्रेष्ठलाई प्रदान
यसबर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान डाक्टर राजुबाबु श्रेष्ठलाई प्रदान गरिएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हलमा आयोजित समारोहका बीच कथाकार तथा गीतकार डा. श्रेष्ठलाई प्रदान गरिएको हो ।
तुलसीमान श्रेष्ठ स्मृति समाजका अध्यक्ष प्राध्यापक डाक्टर सिताराम अधिकारीको अध्यक्षतामा आयोजित नवौ स्मृति सभामा प्रमुख अतिथि नेपाल संस्कृति विश्वविद्यालयका पूर्व उपकूलपति प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालाले डा. श्रेष्ठलाई पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।
प्रा.डा. कोइरालाले पुरस्कृत व्यक्तित्व डा. श्रेष्ठलाई २५ हजार नगदसहित सम्मान पत्र, दोसल्लाले सम्मान गरेका हुन् ।
सो अवसरमा प्रमु्ख अतिथि कोइराला, यसअघि सोही पुरस्कारबाट सम्मानित डाक्टर कुसुमार न्यौपाने, साहित्यकार बमबहादुर थापा जिताली, पालुङ्टार नगरपालिकाका पूर्व मेयर दीपकबाबु कँडेल, तुलसीमान श्रेष्ठ स्मृति समाजका संस्थापक डाक्टर निरजमान श्रेष्ठलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली साहित्यमा डाक्टर राजुबाबु श्रेष्ठको योगदान, उनका उपन्यास,कथा तथा गीतका प्रवृत्तिहरुका बारेमा चर्चा गरेका थिए ।
नेपाल प्रहरीमा ३० बर्षे सेवाबाट निवृत्त राजुबाबु श्रेष्ठका मनहरु र देश दुखेका बेला कविता संग्रह प्रकाशित छन् । त्यस्तै मारिनोसेलोको जून, मृत्यूमेला, बेनामे जर्नेल कथा संग्रह, प्रहरी र साहित्य खोजमुलक लेखन संग्रह, १० वटा गीति संग्रह(एल्बम) र पानीको फोका गीति संग्रह प्रकाशित छन् । राष्ट्रिय कविता सम्मेलन २०५३ मा तृतीय पुरस्कार प्राप्त गरी साहित्य क्षेत्रमा प्रवेश गरेका उनले प्रहरी द्वैमासिकको प्रथम २०६० मा, हरि उत्कृष्ठ प्रतिभा पुरस्कार २०६०, सर्वोत्कृष्ठ गीतकार सम्मान २०६०(रेडियो कान्तिपुर), च्वाइस एफएम सम्मान २०७०, सर्वोत्कृष्ठ गीतकार सम्मान २०७०(कालिका एफएम), सर्वोत्कृष्ठ गीतकार सम्मान २०७० (योङमाइन इन्टरटेनमेण्ट) तथा सर्वाेत्कृष्ठ गीत इमेज अवार्ड २०७१ र २०७२ प्राप्त गरेका छन् ।
लोकगीत तथा लोकसंस्कृतिको क्षेत्रमा अध्ययन अनुसन्धान गर्दागर्दै क्यान्सर रोगका कारण २०७३ सालमा निधन भएका तुलसीमान श्रेष्ठको स्मृतिमा सो सम्मान स्थापना गरिएको हो । गोरखाको पहिलो समाचारमुलक पत्रिका दरौँदीका संस्थापक सम्पादकका रुपमा काम गरेका पालुङ्टार नगरपालिका ६ का श्रेष्ठले गोरखा, तनहूँ, नेपालगञ्ज, काठमाडौँका क्याम्पसमा प्राध्यापन गरेका थिए ।
श्रेष्ठका गोरखाली लोक साहित्य, हिन्दू धर्ममा नारी, पुस्तान्तर कथा संग्रह, नेपाली लोक गीतः परिचय र बिश्लेषण, झ्याउरे गीतको अध्ययन, र अधकल्चो जीवन लगायतका पुस्तकहरु प्रकाशित छन् । त्यस्तै विजय मल्ल स्मृति ग्रन्थ, र विजय मल्ल स्मारिका लगायतका कृति सम्पादन पनि गरेका थिए ।




