| बुधबार, माघ १, २०८२

गोरखा हिरासतलाई थप व्यवस्थित बनाइयो

अबदेखि गोरखा हिरासतमा रहेकालाई भेट्न आउने आफन्तहरुले ओढ्ने, ओछ्याउने बोकेर आउनु नपर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले आफ्नो हिरासत कक्षालाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाएसँगै त्यहाँ रहेकाहरु चिसो भुँइमा बस्नुपर्ने समस्या हटेको हो ।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर हिरासत कक्षालाई सुदृढीकरण गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी भरतबहादुर बिकले बताए । कार्यालयले गोरखा नगरपालिका र आरुघाट गाउँपालिकाको आर्थिक सहयोगमा हिरासत कक्षा सुदृढीकरण गरेको उनले जानकारी दिए ।

‘यसअघि हिरासत रहेकाहरुले घरैबाट म्याट, कम्बल ल्याएर बस्नुपर्ने बाध्यता थियो । घरबाट ल्याउन सम्भव नहुनेहरु चिसै भुँइमा बस्थे, सुत्थेँ’, उनले भने, ‘यो वर्ष मानव अधिकार दिवसको उपलक्ष्य पारेर हिरासत कक्षा सुदृढीकरण गरेका छौँ । अहिले त्यहाँ आधारभूत सेवाहरु जस्तै, सफा कोठा, ओड्ने ओछ्याउने, तातो–चिसो पानीको व्यवस्था, थरमस, म्याट, हिरासतमा बस्नेहरुको लागि टिसर्ट लगायतका सुविधा छन् ।’

गोरखा नगरपालिका र आरुघाट गाउँपालिकाको संयुक्त तीन लाख ९४ हजार आर्थिक सहयोगले हिरासत कक्षामा रङ्गरोगनसहित थप सेवा सुविधाहरु थपिएको एसपी भरत बिकले बताएका छन् । उनका अनुसार हिरासतमा रहेका व्यक्तिहरुको मौलिक अधिकार, सुरक्षा, स्वास्थ्यता र मानव अधिकार संरक्षण गर्ने उद्देश्यसहित हिरासत कक्षालाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाएको हो । उनी भन्छन्, ‘पहिला र अहिलेको अवस्था हेर्ने हो भने जमिन आकाशको फरक छ । पहिला आधारभूत सेवा सुविधा पनि दिन सकिरहेका थिएनौँ ।’

जिल्ला प्रहरी कार्यालय गोरखाले बिहिबार ‘हिरासत कक्षको थप सुदृढिकरण तथा अवलोकन’ कार्यक्रम आयोजना गरेको थियो । जिल्ला प्रहरी प्रमुख एसपी भरतबहादुर बिकको अध्यक्षता एवं गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठ, मानव अधिकार सञ्जालका अध्यक्ष यदु अधिकारी, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाल, गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव खनाल, आरुघाट गापाका प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्