| बुधबार, माघ १, २०८२

आरुघाट गाउँपालिकाका आँखाका बिरामीलाई निशुल्क सेवा

आरुघाट गाउँपालिकाका आँखाका बिरामीले अबदेखि निशुल्क उपचार सेवा पाउने भएका छन् । पालिकाभरका आँखाका बिरामीलाई निशुल्क उपचार सेवा दिनेबारे आरुघाट गाउँपालिका र गोरखा लायन्स आँखा सेवाकेन्द्र बीच बिहिबार सम्झौता भएको हो ।

‘अबदेखि आरुघाट गाउँपालिकाका बासिन्दाले गोरखा लायन्स आँखा सेवाकेन्द्रबाट निशुल्क उपचार सेवा पाउनु हुनेछ’, प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले भने, ‘आरुघाट आधारभूत अस्पतालले स्कृनिङ गरेर पठाएका मोतियाविन्दूका बिरामीहरुलाई गोरखा लायन्स आँखा सेवाकेन्द्रले निशुल्क शल्यक्रिया गर्नेछ । त्यसबापत गाउँपालिकाले प्रतिव्यक्ति पाँच हजार रुपैयाँ सेवाकेन्द्रलाई प्रदान गर्नुपर्नेछ ।’ पोखराको हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा सेवाकेन्द्रले सो सेवा प्रदान गर्ने उनले बताए ।

सम्झौतामा आरुघाट गाउँपालिकाका प्रमुख राजु गुरुङ र गोरखा लायन्स आँखा सेवाकेन्द्रका अध्यक्ष श्रवण जोशीले हस्ताक्षर गरेका छन् । यसअघि गोरखा लायन्स आँखा सेवाकेन्द्रको प्राविधिक सहयोगमा आरुघाट आधारभूत अस्पतालमा आँखा उपचार शाखाको स्थापना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्