
गोरखा नगरपालिकाको हालसम्मको बित्तीय प्रगति १५.७५ प्रतिशत
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा गोरखा नगरपालिकाले १५.७५ प्रतिशत बित्तिय प्रगति प्राप्त गरेको छ । चालु आर्थिक वर्षको हालसम्ममा नगरपालिकाको आर्थिक प्रगति १५.७५ प्रतिशत रहेको लेखा अधिकृत सन्तोष लामिछानेले बताए ।
नगरपालिकाले चालु (प्रशासनिक खर्च)तर्फ २१.३१ प्रतिशत रकम खर्च गरेको छ । यस्तै, बिकास निर्माण (पूँजीगत)तर्फ जम्मा ५.५४ प्रतिशत बजेट खर्च भएको लामिछानेले जानकारी दिए । भौतिकतर्फको प्रगति भने ३५ प्रतिशत रहेको नगरपालिकाका इन्जिनियर प्रकाश ढकालले बताए ।
हाल योजनाहरुको लागत अनुमान गर्ने, ठेक्का आदी कामहरु भैरहेको उहाँले जानकारी दिनुभयो । ‘योजनाका कामहरु केही सुरु हुने प्रक्रियामा छन् भने केही संचालन भैरहेका छन्’, उनले भने । नगरपालिकाले यो वर्ष गोरखा बसपार्कदेखि खोलखालेसम्म फुटपाथ निर्माण योजनाअन्तरगत हरमटारीदेखि पेट्रोलपम्मसम्म फुटपाथ निर्माणको प्रक्रिया सुरु गर्ने इन्जिनियर ढकालले बताएका छन् ।
यस्तै, अन्य मुख्य आयोजना अन्तरगत वडा नं ८ र १३ को वडा कार्यालयको भवन निर्माणको काम भैरहेको उनको भनाई छ ।गोरखा नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ का लागी रु १ अर्व ५ करोड ३८ लाख ३० हजारको बजेट तथा कार्यक्रम अनुमोदन गरेको थियो । पालिकाले कृषि विकासतर्फ ६९ लाख ५० रुपैँया, पशु विकासतर्फ रु ६१ लाख र सामाजिक विकासतर्फ रु एक करोड २० लाख रुपैँया बिनियोजन गरेको बताइन् ।
यस्तै, स्वास्थ्य सेवातर्फ रु एक करोड ३६ लाख, आयुर्वेदतर्फ रु २० लाख र शिक्षा, युवा तथा खेलकुदतर्फ रु तीन करोड ३६ लाख ४५ हजार बिनियोजन गरेको थियो । हाल सबै क्षेत्रका योजनाहरु कार्यान्वयनको प्रक्रियामा रहेको गोरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एकदेव खनालले बताएका छन् ।




