
गोरखामा अति संवेदनशील मतदानस्थलको संख्या बढ्यो, संवेदनशील घट्यो
जिल्ला सुरक्षा समितिले गोरखामा अति संवेदनशील मतदान स्थलको संख्या थप गरेको छ । सुरक्षा चुनौती थपिने आँकलनसंगै समितिले गत २०७९ को निर्वाचनामा भन्दा आउँदो फागुनमा हुने चुनाबका लागि १२ वटा अति संवेदनशील मतदानस्थल थप गरेको हो । यससंगै अब गोरखामा अति संवेदनशील मतदानस्थलको संख्या ८२ पुगेको छ । तीनबर्षअघिको चुनाबमा यो संख्या ७० थियो ।
संवेदनशील मतदानस्थलको संख्या भने घटाइएको छ । अघिल्लो निर्वाचनमा १३५ मतदानस्थल संवेदनशीलको सूचीमा थिए । आउँदो चुनावका लागि भने १३२ लाई मात्र संवेदनशील मतदानस्थलको सूचीमा राखिएको सुरक्षा समितिले जनाएको छ । ११ मतदान स्थललाई सामान्यको सूचीमा राखिएको छ ।
सुरक्षा चुनौती, विगतका घटनाहरु, सुरक्षा युनिटदेखि मतदान केन्द्रसम्मको दुरी, भौगोलिक दुरी लगायतका आधारमा जिल्लाका मतदान केन्द्रहरुलाई अति संवेदनशील, संवेदनशील र सामान्यमा विभाजन गरिएको सुरक्षा समितिका सदस्य एवं जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी भरतबहादुर विकले बताए ।
यो चुनाबमा गोरखामा मतदान स्थल बढाइएको छ भने मतदान केन्द्र घटाइएको छ । अघिल्लो चुनाबमा २१५ मतदान स्थल रहेकामा यसबर्ष थप गरी २२५ कायम गरिएको छ । अघिल्लो चुनाबमा ३३५ मतदान स्थल रहेकामा यसबर्ष ३२१ कायम गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
उनका अनुसार समितिले मतदान केन्द्र तथा प्रहरी युनिटहरुको अवलोकन गर्ने, सुरक्षा चुनौतीबारे बुझ्ने, गस्ती बढाउने लगायतको कामहरु सुरु गरेको छ । चुनावलाई मध्यनजर गर्दै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त फौज परिचालन गर्ने योजना सुरक्षा समितिको रहेको उनको भनाइ छ ।
सरकारले आगामि फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने घोषणा गरेको छ । सोही अनुसार गत असोज दोस्रो सातादेखि फोटोसहितको मतदाता नामावली दर्ता गर्न सुरु गरिएको हो । मतदाता नामावली दर्ताका लागि सुरुमा कात्तिक मसान्तसम्म र पछि मङ्सिर ५ गतेसम्म पाँच दिन म्याद थप गरिएको थियो । उक्त अवधिमा गोरखामा कुल सात हजार ८७५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीका अनुसार निर्वाचन कार्यालयबाट नामावली दर्ता गराउनेको सङ्ख्या एक हजार ५५० रहेको छ । जसमध्य ९०८ पुरुष र ५९४ महिला रहेका छन् । यस्तै, ६ हजार २३५ जनाले राष्ट्रिय परिचय पत्रमार्फत नामावली दर्ता गराएका छन् । यसअघिको निर्वाचनपछि र नयाँ दर्ता भएको समेत गरी गोरखामा मतदाताको संख्या कुल दुई लाख २९ हजार ७६६ पुगेको सुवेदीले जानकारी दिए ।
गोरखामा यसअघिको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई लाख २१ हजार ९८१ मतदाताले मतदान गरेका थिए ।
फागुन २१ को निर्वाचनका लागि जिल्लामा तीनवटा मतदान केन्द्रहरु थप भएका छन् । चुमनुब्री, सहिदलखन गाउँपालिका र पालुङ्टार नगरपालिकामा १–१ वटा मतदान केन्द्रहरु थप भएको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । योसँगै जिल्लामा २२५ वटा मतदान केन्द्र र ३२१ वटा मतदान स्थल कायम भएको कार्यालयको भनाइ छ ।




