
बसपार्क क्षेत्रको फुटपाथ निर्माणको काम अन्तिम चरणमा
प्रतीक्षा आले ।
गोरखा सदरमुकामस्थित बसपार्क क्षेत्रमा फुटपाथ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । फुटपाथ निर्माणअन्तरगत हाल अन्तिम चरणको कालोपत्रेको काम भैरहेको गोरखा नगरपालिकाका इन्जिनियर प्रकाश ढकालले बताए । गोरखा नगरपालिकाले सदरमुकामको खोलखोलेदेखि बसपार्कसम्म सडकको दुवैतर्फ फुटपाथ निर्माणको कामलाई बहुवर्षीय योजनाको रुपमा अघि सारेको छ ।
जसअन्तरगत यो वर्ष बसपार्कदेखि शक्तिचोकसम्मको ३०० मिटर सडकमा फुटपाथ निर्माणसहित सडक स्तरोन्नती गरिएको इन्जिनियर ढकालले जानकारी दिए । उनका अनुसार फुटपाथ निर्माणका लागि गोरखा सडक योजनाले एक करोड ७१ लाख र गोरखा नगरपालिकाले एक करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । नगरपालिका र गोरखा सडक योजनाले सडकको दायाँ र बायाँ पट्टी विभाजन गरेर काम संचालन गरेको छ ।
गोरखा नगरपालिकाले आफ्नो जिम्मेवारी अन्तरगत ८५ प्रतिशत काम सम्पन्न गरेको इन्जिनियर ढकाल बताउँछन् । ‘नगरपालिकाले सडकको दुवैतर्फ फुटपाथ निर्माण र आफ्नो जिम्मेवारीतर्फको नाला निर्माण र सडक कालोपत्रेको जिम्मेवारी लिएको थियो’, उनले भने, ‘हाल सबै कामहरु लगभग सम्पन्न भैसकेका छन् । सडक कालोपत्रे मात्र बाँकी छ ।’ यही पुष मसान्तभित्र सबै काम सम्पन्न हुने उनको भनाई छ ।
गोरखा सडक योजनाको काम पनि अन्तिम चरणमा पुगेको कार्यालयका इन्जिनियर हरि लामाले बताए । आयोजनाअन्तरगत हाल कालोपत्रेको काम भैरहेको उनले जानकारी दिए । ‘हरमटारीको सहिदगेट माथिको मुख्य सडकखण्डमा ‘ओभरले’ कालोपत्रेको काम पनि भैरहेको छ । फुटपाथअन्तरगत हाम्रो जिम्मेवारीमा परेको हिम पाइप राख्ने, नाला निर्माण गर्ने र कालोपत्रेको काम पनि लगभग भैसक्यो’, उनले भने । कार्यालयले मंसिरभित्र काम सम्पन्न गर्नेगरी निर्माण कार्यलाई तिव्रता दिएको उनको भनाई छ ।
बसपार्क क्षेत्रको फुटपाथ निर्माणको काम सम्पन्न भएसँगै हरमटारीदेखि पेट्रोलपम्पसम्म दुवैतर्फ फुटपाथ निर्माणको काम सुरु गर्ने गोरखा नगरपालिकाले जनाएको छ ।




