
राष्ट्रिय माविमा ‘बुक फ्रि फ्राइडे’ अन्तरगत आलु खेती
गोरखा नगरपालिकाको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमअन्तरगत राष्ट्रिय मावि घलाङका विद्यार्थीहरुले आलु खेती गरेका छन् । बुधबार गोरखा नगरपालिका वडा नं ३ बेनीखोलामा आलु रोपेर बुक फ्रि फ्राइडे मनाइएको राष्ट्रिय मावि घलाङका प्रधानाध्यापक माधव तिवारीले बताए ।
बेनीखोलाको दुईरोपनी क्षेत्रफल जग्गामा आलु खेती गरेको उनले जानकारी दिए । ‘खास यो शुक्रबार गर्नुपर्ने कार्यक्रम हो तर गत हप्ताको शुक्रबार विद्यार्थीहरु राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा व्यस्त भए त्यसैले बुधबार गरेका हौँ’, उनले भने ।
विद्यालयले दिवा खाजा कार्यक्रमलाई समेत सहयोग हुने उद्देश्यले आलु लगायत अन्य तरकारी अन्य बाली लगाउँदै बुक फ्रि फ्राइडे मनाउने गरेको प्रअ तिवारी बताउँछन् । उनी भन्छन्, ‘यो कार्यक्रममा कक्षा ६ देखि १० का विद्यार्थीहरु सहभागी हुन्छन् । आलुसँगै च्याउ, सागसब्जी लगायत तरकारी पनि लगाउँदै आएका छौँ ।’
विद्यार्थी, शिक्षक, स्थानीय लगायतको उपस्थितिमा बेनीखोलामा आलु रोपेको उनको भनाइ छ ।




