
दुर्गम गाउँमा ३८ बर्ष पढाएका शिक्षकलाई हेलिकोप्टर चढाएर बिदाइ
दुर्गम गाउँमा विद्यालय स्थापना गरेर झण्डै चार दशक बालबालिका कखरा सिकाउने शिक्षकलाई बिदाइ गर्दा सामान्यतया कसरी गरिएला ? औपचारिक कार्यक्रममा उनको योगदानको मिठो शव्दमा प्रसंसा गरेर, खादामाला पहि¥याएर, उपहार, मायाको चिनो प्रदान गरेर ?
तर उत्तरी गोरखाको धार्चे २ रुञ्चेतका बासिन्दाले गाउँमा प्राथमिक तहको विद्यालय स्थापना गरी निम्न माध्यमिक, माध्यमिक तहसम्म स्तरोन्नति गरेर ३८ बर्ष शिक्षा सेवा गरेका शिक्षकलाई हेलिकोप्टर चढाएर बिदाइ गरेका छन् । बि.सं. २०४५ साल फागुन १९ गतेदेखि गण्डकी माध्यमिक विद्यालय रुञ्चेतमा अध्यापन गरेका शिक्षक इन्द्र उपरकोटीलाई मंगलबार गाउँलेले औपचारिक समारोह गरी फूलमाला पहि¥याई हेलिकोप्टर चढाएर बिदाइ गरेका वडाअध्यक्ष सरोज गुरुङले जानकारी दिए ।
‘उहाँ हाम्रो विद्यालयको संस्थापक प्रधानाध्यापक हो । यो स्कूल उहाँले जागिरको पहिलो नियुक्ति लिएको स्कूल पनि हो’, वडाअध्यक्ष सरोज गुरुङले भने, ‘आज उहाँ ५८ बर्ष पुग्नु भयो । सेवा गरेको पनि ३८ बर्ष बित्यो । त्यसैले हामीलगायत पूर्व विद्यार्थीहरु सबैले एक हजार, दुईहजार रुपैयाँका दरले यथासक्य रकम संकलन ग¥यौँ ।अनि उहाँको विदाइ समारोह ग¥यौँ ।’
शिक्षक उपरकोटी र उनकी धर्मपत्नी माया उपरकोटीलाई हेलिकोप्टरमा चढाएर घर पठाएको उनले बताए ।
‘उहाँको जन्मघर त गोरखाको नारेश्वर हो तर, अहिले भरतपुर महनगरपालिका १० मा बस्नुहुन्छ । त्यसैले हामीले गाउँदेखि काठमाडौंसम्म हेलिकोप्टर चढाएर पठायौँ अनि, काठमाडौंबाट जहाज चढाएर भरतपुर पठायौँ’, वडाअध्यक्ष गुरुङले भने, ‘हेलिकोप्टर र जहाज खर्च भूपू विद्यार्थीले नै जुटाएका हौँ ।’ सो विद्यालयबाट उतीर्ण भई विभिन्न व्यवसाय तथा रोजगारी गर्ने एकसय जनाभन्दा धेरैले शिक्षकको बिदाइका लागि आर्थिक संकलन गरेको उनको भनाइ छ ।
शिक्षक उपरकोटी प्राथमिक तहका शिक्षक हुन् । उनकै पहलमा सो विद्यालय क्रमशः निमावि र दुई बर्षअघि मात्र माध्यमिक तहमा स्तरोन्नति भएको थियो । एसईई दिएको पहिलो ब्याचले नै गाउँपालिकाका सबै विद्यालयलाई उछिनेर सर्वोत्कृष्ट नतिजा ल्याएको उनको भनाइ छ । ‘उहाँको सक्षम नेतृत्वले गर्दा यस विद्यालयले पहिलो पटकको एसईईमा नै धार्चे गाउँपालिकाको सर्वोत्कृष्ट नतिजा ल्याउन हुन सफल भएको थियो’, वडा अध्यक्ष गुरुङले भने, ‘उहाँ अहिले स्वास्थ्यका कारण अनिवार्य अवकासभन्दा दुईबर्ष अघि नै विद्यालयबाट बिदा लिएर जानु भयो । त्यसैले हामीले यथासक्य सम्मान गरेका हौँ ।’
बिदाइमा गाउँलेबाट अपेक्षा नगरेको सम्मान प्राप्त गरेको शिक्षक उपरकोटीको भनाइ छ । ‘आज बिदाइको दिनमा मैले नसोचेको, कतै नसुनेको, कतै नदेखेको सम्मान पाएँ । मैले त कर्तव्य निर्बाह गर्नुबाहेक के नै गरेको थिएँ र ? तैपनि गाउँलेहरु मसंग यति धेरै खुशी, र सन्तुष्ट रहेछन् भन्ने थाहा पाएँ’, उनी भन्छन्, ‘म त केही सोच्नै सकिरहेको छैन ।’ उनको बिदाइमा धार्चे गाउँपालिकाका सबै माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा आसपासका आधा दर्जनभन्दा धेरै आधारभूत विद्यालयका शिक्षकहरु पनि सहभागी थिए ।
विद्यार्थी तथा गाउँलेहरु रोएर बिदाइ गरेका शिक्षक रामपति गुरुङले जानकारी दिए । रुञ्चेत गोरखाको दुर्गम गाउँ हो । यहाँ गुरुङ र विश्वकर्मा समुदायको मात्र बसोबास रहेको छ । शिक्षाको क्षेत्रमा पिछडिएको यो गाउँमा ईन्द्र उपकारकोटीले गण्डकी माविको संस्थापक प्रधानाध्यापक बनेर लामो सेवा गरेका थिए ।




