| शुक्रबार, बैशाख १७, २०८३

सुन्तलाको सिजन सुरु, बिक्री गर्न किसान उत्साहित

प्रतीक्षा आले ।
जिल्लाको गण्डकी गाउँपालिका–२ याङ्दीका तुलबहादुर थापाको बारीमा यतिबेला लटरम्मै सुन्तला फलेको छ । बिगतका बर्षहरुमा भन्दा यो बर्ष सुन्तला उत्पादन निकै राम्रो भएको उनी बताउँछन् । ‘पोहोरभन्दा यो वर्ष दोब्बर सुन्तला फलेको छ’, उनी भन्छन्, ‘पुराना बोटहरु मासिँदै गएपछि नयाँ बोट लगाएको थिएँ । यो सालबाट नयाँ बोटहरुले राम्रो उत्पादन दिन सुरु गरेको छ ।’ थापाले याङ्दीको सात रोपनी जग्गामा साँढे दुईसय बोट सुन्तला रोपेका छन् । गत वर्ष दुई लाखको सुन्तला बेचेका थापाले यो वर्ष करिब पाँच लाखको सुन्तला बिक्री गरिसकेका छन् । अझै बेच्न बाँकी रहेको उनको भनाइ छ ।

याङ्दीकी सिता थापा मगरले पनि आफ्नो बारीको डेढसय बोट सुन्तला ३ लाख ८० हजारमा ठेक्का लगाएकी छिन् । उनी भन्छिन्, ‘पहिला सहकारीमार्फत बेच्थ्यौँ । अहिले त ठेकेदारहरु सुन्तला नपाक्दै बारीमा आउँछन् । हेरेर मूल्य गरेर जान्छन् ।’ आफूहरुको मुख्य आयस्रोत सुन्तला खेती रहेको उनी बताउँछिन् । ‘सासु ससुराको पालादेखि यही सुन्तला बेच्दै आएका हौँ’, उनले भनिन्, ‘सुन्तला बेचेरै घर व्यवहार, छोराछोरीको पढाइ, औषधी उपचार टरेको छ ।’

केही वर्षयता सुन्तलाको उत्पादन ह्वातै घटेको गोरखामा बिस्तारै उत्पादन बढ्न थालेको सुन्तला जोन संचालन समन्वय समिति गोरखाका अध्यक्ष एकबहादुर थापाले बताए । जिल्लाका अधिकांश ठाउँहरुमा सुन्तलाको बोट मासिँदै गएको अवस्थामा हाल किसानहरुले नयाँ बोट लगाएको उनले जानकारी दिए । ‘केही वर्षदेखि पुरानो बोटहरु मासिँदै गएर नयाँ बोट लगाउने क्रम जारी थियो । त्यसैले पनि गोरखाको सुन्तला उत्पादन दर घट्न गएको हो’, उनले भने, ‘अहिले सबैठाउँमा किसानहरुले लगाएको नयाँ सुन्तलाको बोटले उत्पादन दिन सुरु गरेको छ ।’ थापाका अनुसार गण्डकी गाउँपालिका–२ याङ्दीमा मात्र करिब १०० घरधुरी व्यवसायिक सुन्तला खेतीमा आवद्ध छन् ।

जिल्लामा यो वर्ष २२ प्रतिशतले सुन्तलाको उत्पादन बढ्ने राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम कार्यान्वयन एकाइ गोरखाले जनाएको छ । जिल्लामा सबै क्षेत्रहरुमा गत वर्षको तुलनामा यो वर्ष तीन गुणा उत्पादन बढेको एकाई प्रमुख पूर्ण ढुङ्गानाले बताइन् । ‘बिगतका वर्षहरुमा किसानहरुले लगाएको नयाँ सुन्तलाको बोटले उत्पादन दिन थालेपछि गोरखामा उत्पादन बढेको हो । यस वर्षको मौसम पनि सुन्तलामय रहनु पनि उत्पादन बृद्धिको प्रमुख कारण हो’, उनले भनिन्, ‘यहाँको हावापानी सुन्तलाको लागि उपयुक्त छ । अन्य ठाउँको तुलनामा यहाँको सुन्तला गुणस्तरीय पनि छ ।’

जिल्लाको सुन्तला जात फलफुल खेतीलाई राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम कार्यान्वयन एकाइ गोरखाले सघाउँदै आएको छ । कार्यालयले जिल्लामा सुन्तला जोन कार्यक्रम लागु गरेर सुन्तला खेती प्रवद्र्धन गर्दै आएको हो । गण्डकी, सहिदलखन, भीमसेनथापा गाउँपालिकाका र गोरखा नगरपालिकाका सबै वडा र पालुङटार नगरपालिकाका वडा नं ९ र १० लाई समेटेर सुन्तला जात फलफूल जोन घोषणा गरी कार्यान्वयन गरिरहेको राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम कार्यान्वयन एकाइ गोरखाकी प्रमुख पूर्ण ढुङ्गाना बताउँछिन् । ढुङ्गानाका अनुसार जिल्लामा सुन्तलाको उत्पादन बढाउन बगैचा व्यवस्थापन तथा चक्लाबन्दी, क्षेत्र बिस्तार, साना सिंचाई पूर्वधार निर्माण, उन्नत प्रविधिसहितको प्रदर्शनी, साना मेसिनरी वितरण लगायतका कार्यक्रमहरु संचालन गरिएको छ ।

सुन्तला जिल्लाको गण्डकी, भीमसेन थापा र शहिद लखन गाउँपालिका, गोरखा र पालुङटार नगरपालिकामा फल्ने गर्छ । गण्डकीको ताङ्लीचोक, भुम्लिचोक, फलाटे, फुजेल र सहिदलखनको मनकामना, ताक्लुङ, मास्केछाप, तिनमाने, अधेरीलाई सुन्तालको पकेट क्षेत्र मानिन्छ । त्यस्तै भीमसेन थापाको तान्द्राङ, पालुङटारको बागडाँडा, शेरा र गोरखा नगरपालिकाको ताप्ले, नारेश्वर, फिनाम र भट्टवेशीलाई पनि सुन्तला उत्पादनको पकेट क्षेत्रको रुपमा लिने गरिन्छ ।

जिल्लाको करिव एकहजार ९७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुदै आएको छ भने करिब ३०० किसान सुन्तला खेतीमा आवद्ध छन् । जिल्लाका किसानहरुले खाकु र स्थानीय जातको सुन्तला लगाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्