| शुक्रबार, बैशाख १७, २०८३

मुख्यमन्त्री पाण्डेले गरे सिरानचोक–४ को वडा कार्यालय भवन उद्घाटन

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सिरानचोक गाउँपालिका वडा नं ४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरेका छन् । मुख्यमन्त्री पाण्डेले आइतबार एक कार्यक्रमका बीच वडाको राम्चे स्थित कार्यालय भवनको उद्घाटन गरेका हुन् ।

सिरानचोक–४ ले यसअघि राम्चे महिला समूहको साँघुरो भवनबाट वडा कार्यालयको काम कारबाही संचालन गर्दै आएको वडाअध्यक्ष भरत हमालले बताए । ‘आफ्नै भवन नहुँदा काम गर्नै गाह्रो भएपछि गाउँपालिकाको ६० प्रतिशत र जिल्ला समन्वय समितिको ४० प्रतिशत लागतमा वडा कार्यालय भवन निर्माण गरेका हौँ’, उनले भने ।

करिब ५४ लाख रुपैयाँ लागतमा चार कोठे वडा कार्यालय भवन निर्माण भएको उनले जानकारी दिए । आफ्नै भवनबाट वडा कार्यालय संचालन भएपछि वडाबासीलाई गुणस्तरीय सेवा प्रवाह गर्न सकिने वडाअध्यक्ष हमाल बताउँछन् । एक हजार घरधुरी रहेको सिरानचोक–४ मा करिब ४५ सय वडाबासीहरु छन् ।

प्रतिक्रिया दिनुहोस्