
द्रव्यशाह क्याम्पसमा आयोजित हाजिरी जवाफ प्रतियोगिता मोर्डन सेकेण्डरी प्रथम
गोरखा नगरपालिका वडा नं ९ स्थित द्रव्यशाह बहुमुखी क्याम्पसमा गोरखा नगरपालिकास्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । गोरखा विकास वचत तथा ऋण सहकारी संस्थाको आयोजना एवं क्याम्पसको समन्वयमा आइतबार प्रतियोगिता भएको हो ।
हाजिरी जवाफ प्रतियोगितामा गोनपा–६ को मोर्डन सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुलले प्रथम स्थान हासिल गरेको छ । विद्यालयले नगद पुरस्कार रु ६ हजारसहित प्रमाणपत्र प्राप्त गरेको द्रव्यशाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख एकदेव अधिकारीले बताए । यस्तै, प्रतियोगितामा सरस्वती मावि आहाले दोस्रो, द ओल्ड क्यापिटल मावि रानिवन तेस्रो र राष्ट्रिय मावि घलाङले सान्त्वना स्थान हासिल गरेको उनले जानकारी दिए ।
दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमश रु ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा गोरखा नगरपालिकाभित्रका १८ वटा विद्यालयहरुले सहभागिता जनाएको क्याम्पस प्रमुख अधिकारीको भनाइ छ ।
गोरखा विकास वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीवनज्योति श्रेष्ठ, द्रव्यशाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख एकदेव अधिकारी, क्याम्पसका स्ववियु उपसभापति कुशललाल श्रेष्ठ, प्राध्यापक संघका अध्यक्ष कुशललाल श्रेष्ठ लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।




