
पालिकामै बिशेषज्ञ स्वास्थ्य सेवा
बारपाक सुलिकोट गाउँपालिकाका स्थानीयलाई लक्षित गरी बिशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिएको छ । प्रदेश अस्पताल गोरखाको आयोजना तथा गाउँपालिकाको समन्वयमा हाडजोर्नी तथा जनरल फिजिसियन सेवा प्रदान गरिएको हो । बारपाक स्वास्थ्य चौकीमा भएको स्वास्थ्य परिक्षणमा कुल १ सय ९० जनाले सेवा लिएका छन् ।
हाडजोर्नी सम्बन्धी ८२ जना र बाँकीले जनरल फिजिसियन सेवा लिएको अस्पतालले जनाएको छ । उनीहरुमध्ये १०१ जनाको इको (मुटुको भिडियो एक्सरे) गरिएको उनले जानकारी दिए । ‘इको गर्दा पाँच जनामा मुटुको जटिल समस्या देखियो,’ उनले भने, ‘दुई जनालाई मुटु अस्पतालमा उपचार गराउन भनेका छौँ, बाँकीलाई उपचारका लागि अस्पतालमा बोलाएका छौँ ।’
अस्पतालका निमित्त सुपरिटेन्डेन्ट एवं हाडजोर्नी विशेषज्ञ डा. सिद्धार्थ खनाल, डा. शंकर सिग्देल, कन्सल्टेन्ट फिजिसियन डा. विजय शर्मा लगायतले स्वास्थ्य परीक्षण गरेका थिए । प्रदेश सरकारको स्थानीय तहमा बिशेषज्ञ स्वास्थ्य सेवा विस्तार कार्यक्रम अन्तरगत बारपाक सुलिकोटमा कार्यक्रम गरिएको खनालले बताए । ‘प्रत्येक दुई दुई महिनामा बिदाको दिन पारेर हामी बिभिन्न पालिकामा गएर बिशेषज्ञ सेवा प्रदान गर्छाै, पालिकासँग समन्वय गरेर त्यहाँको स्थानीयको आवश्यकता अनुसारको बिशेषज्ञ चिकित्सक लान्छौ,’ उनले भने ।
एक पटकमा दुई वटा बिशेषज्ञ सेवा प्रदान गर्ने गरी व्यवस्था मिलाइने उनले जानकारी दिए । उक्त कार्यक्रम अस्पतालमा स्वास्थ्य परिक्षण गराएर फलोअपका लागि पुनः अस्पताल आउनुपर्ने बिरामीका लागि थप प्रभावकारी हुने उनको भनाइ छ ।




