
लाग्यो उधौली : भेँडाबाख्रा लावालस्कर लाएर बेशी झार्दै गोठालाहरु
उँधौलीको मेलो लागेपछि लेकका गोठहरु बेशी झार्न सुरु भएको छ । जिल्लाको सबैभन्दा धेरै भेँडा पालन गर्ने चुमनुब्री गाउँपालिका ३ का करिब २५ हजार भेँडाबाख्रा बेशी झारिएको वडासदस्य विकास गुरुङको भनाइ छ । चुमनुब्री ३ साबिक सिर्दिबास गाविसको पाङसिङ जिल्लाको सबैभन्दा धेरै भेँडा पालन गर्ने गाउँ हो ।
यहाँबाट दिनहूँ जगत हुँदै लावालस्कर लागेर भेँडा गोरखा, धादिङ, लम्जुङका बेशीतिर लैजाने गरिएको स्थानीय स्वास्थ्यकर्मी लक्ष्मण कार्की बताउँछन् । ‘हिजो पनि तीनसय जति भेँडा तल झारेका थिए । आज तीनजन गोठालाका ३४० वटा भेँडा एकै पटक लावालस्कर लाएर तल झारिरहेका छन्’ उनी भन्छन् ।
यहाँका १५० घरधुरीमध्य करिब ७० घरधुरी किसानले भेँडाबाख्रा पालन गरेका वडा सदस्य गुरुङको भनाइ छ । ‘भेँडाबाख्रा लेकको गोठबाट पाङसिङ गाउँमा झार्न थालेको एक महिना भयो । अहिले पाङसिङबाट तल झार्न थालिएको छ’, उनी भन्छन्, ‘यहाँबाट खोर्ला, सिङ्ला, लाप्राक, बारपाक, दूधपोखरी हुँदै लम्जुङतिर झारिन्छ । कोही गोठालाले आर्खेत, आरुघाट, मान्बु हुँदै धादिङसम्म झार्ने चलन छ ।’
भेटेरिनरी अस्पताल तथा पशु विज्ञकेन्द्रका अनुसार चुमनुब्रीमा १६ हजार पाँचसय भेँडा र आठहजार पाँचसय बाख्रापालन गरिन्छ । त्यस्तै ६ हजार पाँचसय याकचौरी पालन गर्ने केन्द्र प्रमुख अनन्त कोइराला बताउँछन् । लेकबाट बेशी झार्ने पनि मौलिक परम्परा छ । ‘लेकको गोठबाट वेशीचाहिँ राम्रो बार हेरेर झार्ने गर्छन् ।
लेकको गोठबाट पनि एकै दिनमा बेशी झार्दैनन् । हावापानीसंग घुलमिल गराउँदै एक महिना लगाएर गाउँसम्म ल्याइ पु¥याउँछन्’, पाङसिङका विकास गुरुङ भन्छन्, ‘अनि गाउँमा झारिसकेपछि यहाँबाट अन्यत्र लैजानचाहिँ विधिपूर्वक पूजाआजा गरी साइत गर्ने चलन छ ।’ अहिले धमाधम गाउँबाट जगत, तातोपानी, खोर्ला, माछाखोला, आरुघाटतिर भेँडा लैजान थालिएको उनको भनाइ छ । ‘अहिले बेशी झारिएको भेँडाबाख्रा अब जेठ दोस्रोसाता उँभौली लागेपछि लेकको गोठतिर पु¥याइन्छ’, उनले भने ।
उँधौली सिजन सुरु भएपछि लेकका गोठबाट चौरीहरु पनि बेशी झार्ने गरिन्छ । ‘बाक्लो रौँ हुने भएकाले याकचाहिँ लेकमै छोड्छन् । पातलो रौँ हुने भएकाले चौँरीमात्र बेशीझार्ने चलन छ’ चुमनुब्री ७ का वडाअध्यक्ष टासी दोर्जे लामा भन्छन्, ‘बेशी झार्दा पनि र पछि जेठको दोस्रो सातातिर लेक लैजादा पनि लामाले साइत हेरेर विधि पु¥याएर लैजाने चलन छ ।’
भेँडाबाख्रा पालन गर्ने किसान धेरै भएकाले चुमनुब्री गाउँपालिका ३ मा गोठालाहरुलाई प्रोत्साहन कार्यक्रम लागु गरिएको छ । ‘गोठालाहरुलाई प्रोत्साहन गर्न गोठमा जाने बाटो मर्मत, खानेपानीको व्यवस्था, गोठालाका लागि त्रिपाल, सोलार बत्ती, गमबुट, स्लिपिङ ब्याग वितरण गर्ने गरेका छौँ’, चुमनुब्री ३ का वडाअध्यक्ष रामकुमार गुरुङ भन्छन्, ‘गाउँपालिकाको ८० प्रतिशत र गोठाला स्वयंको २० प्रतिशत लागत साझेदारीमा यस्तो कार्यक्रम बर्सेनि गर्ने गर्छौँ ।’ पालिकाले भेँडाबाख्रा पालन गर्ने किसानलाई प्रोत्साहन दिन कार्यक्रम गरिरहे पनि बर्सेनि भेडाबाख्रा पालन गर्ने किसानको संख्या घटिरहेको उनको भनाइ छ ।




