
बिकासे योजनाका ठेक्का प्रक्रिया व्यवस्थित गर्नुपर्ने युवाहरुको माग
गोरखाका युवाहरुले बिकास निर्माणका योजनाको ठेक्का प्रक्रिया व्यवस्थित हुनुपर्ने माग राखेका छन् । बुधबार जिल्ला प्रशासन, जिल्ला समन्वय, जिल्लाका सबै पालिका र निर्माण व्यवसायी संघ गोरखालाई ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरुले बिकासे योजनाहरु विधि र प्रक्रिया पु¥याई कार्यान्वयन गर्नुपर्ने माग राखेका हुन् ।
युवाहरुले खानेपानी तथा ढल व्यवस्थापन कार्यालय लमजुङबाट जिल्लाका लागी विनियोजन भएका विविध कार्यक्रमहरु टेण्डर प्रक्रिया बिनै उपभोक्ता समितिको नाममा कार्यान्वयनमा लगीएको भन्दै असन्तुष्टि जनाएका छन् । कार्यालयले दीर्घकालीन उपयोगिता भन्दा पनि कार्यालय र सिमित व्यक्तिको लाभको हिसाबमा डिटेल् इस्टिमेट नगरी निर्माण कार्य अघि बढाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
‘कतिपय योजनाहरु नेपाल सरकारबाट बजेट रोक्का भएपनि बजेट खर्चका लागी कार्यान्वयनमा रहेको र कतिपय योजना सम्पन्नको चरणमा पुगेको छ’, पत्रमा भनिएको छ, ‘यसरी आवश्यक विधि र प्रक्रिया बिनै सिमित व्यक्तिको मात्र लाभ हुनेगरी कार्यान्वयनको चरणमा लगिएकोमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’ आगामी दिनहरुमा सरकारबाट बिनियोजित बजेट कार्यान्वयन गर्दा यी र यस्ता योजनाहरुको कार्यान्वयन विधि र प्रकृया पु¥याई गराउनुपर्ने युवाहरुले अनुरोध गरेका छन् ।




